विगतका आन्दोलनहरूमा केही कमजोरीहरू अवश्य थिए– अवसरवादी नेताहरू, दिशाहीन नाराहरू र स्वार्थी गठबन्धनहरू । तर, ती कमजोरीका कारण देशभित्र जन्मिएको हरेक विद्रोहलाई विदेशीको खेल भनेर अस्वीकृत गर्नु राष्ट्रको आत्मसम्मानमाथिको चोट हो ।
हाम्रो देशमा हरेक आन्दोलन सुरु हुनासाथ एउटा अचम्मको अभ्यास दोहोरिन्छ– जसले प्रश्न उठाउँछ, ‘कसको इसारामा आन्दोलन भयो ?’ अनि तुरुन्तै उत्तर पनि दिइन्छ, ‘विदेशीको ।’ यही आरोपले सच्चा आवाजलाई दबाउने काम गर्छ र परिवर्तनको सन्देशलाई कमजोर पार्छ । आज जेन–जी विद्रोह पनि त्यही आरोपको घेरामा छ ।
यस आन्दोलनलाई पनि विदेशी प्रेरित वा दलालहरूले चर्काएको भनेर बदनाम गर्नेहरू देशभित्रै रहेका त्यस्ता सत्ताप्रेमी वर्ग हुन्, जसले जनताको आवाजभन्दा आफ्नो स्वार्थको सुरक्षा ठूलो ठान्छन् ।
विगतका आन्दोलनहरूमा केही कमजोरीहरू अवश्य थिए– अवसरवादी नेताहरू, दिशाहीन नाराहरू र स्वार्थी गठबन्धनहरू । तर, ती कमजोरीका कारण देशभित्र जन्मिएको हरेक विद्रोहलाई विदेशीको खेल भनेर अस्वीकृत गर्नु राष्ट्रको आत्मसम्मानमाथिको चोट हो । परिवर्तनको स्रोत कहिल्यै बाहिरबाट आउँदैन, त्यो भित्रैको पीडा, असमानता र अन्यायबाट जन्मिन्छ । त्यसैले जेन–जी विद्रोह पनि युवाहरूको आफ्नै अनुभव, असन्तोष र सम्भावनाको अभिव्यक्ति हो– जसलाई विदेशी हस्तक्षेपको नाममा बदनाम गर्नु बेइमानी हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
...
मनै छोयो
कान्तिपुरमा प्रकाशित ‘भूमिहीनलाई जहिल्यै अन्याय’ शीर्षक आलेखले मनै छोयो । देशमा अकल्पनीय घटना भयो । ठूलो मानवीय र भौतिक क्षति भयो । यहीबीचमा प्राकृतिक घटना पनि बढिरहेका छन् । जब–जब देशमा विपत्ति आइलाग्छ, तब–तब भुइँ तहमा रहेका मानिसलाई अझ पछाडि पारिन्छ । प्रकृतिले पनि तिनलाई नै खेदो गर्छिन् । यस पटक पनि त्यही भयो । वर्तमान समयमा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनकै लागि आयोगले काम गरिरहेको अवस्था थियो । सबै जिल्ला र स्थानीय तहहरूमा कामहरू भइरहेका थिए । केही मानिसको जग्गा प्राप्ति प्रक्रिया नजिकै पुगेको थियो । केहीको प्रक्रिया पूरा हुँदै थियो । तर अचानक आयोगको खारेजीको हल्लाले भूमिहीन सुकुम्बासीहरू बेचैन बनेका छन् ।
सवाल दुई–चार हजार मानिसको होइन, लाखौं भूमिहीनको हो । त्यति मात्रै होइन, राज्यको ठूलो लगानी खेर जान्छ । आखिर किन यस्तो हुन्छ ? संविधानमा लेखिएकै आधारमा नै काम भइरहेको थियो । तर भइरहेका कामलाई चटक्क छोड्ने नभई आयोगले जहाँसम्म काम गरेको छ, त्यहीँबाट निरन्तरता दिनैपर्ने हुन्छ । यसमा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ । भूमिहीनले जग्गा कहिले पाउने ? किन यी निम्सरो नागरिकलाई जहिल्यै अन्याय ?
– कमला गौतम, दमक, झापा
...
द्वन्द्व व्यवस्थापन : जटिल मामिला
लामो समयदेखि जरा गाडेर बसेका स्थापित दलहरूलाई पाखा लगाउन सफल जेन–जी पुस्ताको जति प्रशंसा गरे पनि कमै हुन्छ । सत्ता हडपेर हालीमुहाली गर्दै आएका नेता पदच्युत भए पनि मुलुकको समस्या हटिसकेको छैन । नेताको अघिपछि हिँड्दै मासुभात खाएर मोजमस्तीमा लाग्ने हनुमान, दहीचिउरेदेखि उपरखुट्टी लाएर बसेको भरमा तलब भत्ता पचाउने, पैसाको लेनदेनले कुर्सी ओगट्नेको असन्तुष्टिबाट वर्तमान सरकार निसानामा नपर्ला भन्न सकिँदैन । उता निजामती कर्मचारी, विद्यार्थी, शिक्षक, प्राध्यापकसँग जोडिएका र ठूला नेताको आडमा हुंकार मच्चाउने, सकारात्मकभन्दा नकारात्मक काममा ध्यान दिने संघ संगठनका पदाधिकारीले पनि सरकारमाथि औंलो ठड्याउन थालेका छन् ।
जेन–जीलाई बदनाम गराउन र दोषी ठहर्याउन अरूबाट गुन्डागर्दी, लुटपाटको घटना बढ्न सक्ने सम्भावना उत्तिकै छ । यता उद्योगधन्दामा लगानी गर्नेहरू गत महिनाको आगजनी र तोडफोडबाट त्रसित बनेका मात्र नभई नेपालको विकासमा सहयोग जुटाउन लालायित विदेशमा बस्ने गैरआवासीय नेपाली समुदाय निराश बनेका छन् साथै विदेशी लगानीकर्ताको विश्वास टुटेको छ । हामी भने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशबाट बेखबर बन्दै अझैसम्म क्रोध, प्रतिशोध, मुठभेडको राजनीतिलाई प्रश्रय दिइरहेका छौं, राजनीति ‘साम, दाम, दण्ड, भेद’ को संगम भएको यथार्थ भुलेका छौं ।
– दीपक थापा, नयाँ बानेश्वर, काठमाडौं
![[Letter to the Editor] Let's not discredit the Gen-ji Rebellion](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/genzprotest09082025j2a0004-copy-2392025030020-1000x0-07102025030843-1000x0.jpg&w=1001&h=0)