[सम्पादकलाई चिठी] ओली अभिव्यक्तिमा लगाम जरुरी

ओलीको भाषणमा न त लज्जा छ, न पश्चात्ताप, न नैतिकताको कुनै छाया । उनको अराजक अभिव्यक्तिले लोकतन्त्रको आत्मालाई कुल्चने प्रयास गरिरहेको छ ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

[Letter to the editor] Oli's expression needs to be curbed

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो व्यवहार, भाषण र हाउभाउले नेपालको शान्तिपूर्ण राजनीतिक वातावरणमाथि गम्भीर प्रश्न खडा गरेको छ । के देश फेरि हिंसाको अँध्यारो युगतिर फर्किंदै छ ? जुन नेतृत्वले सरकारमा रहँदा निर्दोष युवा र विद्यार्थीमाथि गोली चलायो, कलिला बालबालिकाको छाती र टाउकोमा निसाना साधेर ज्यान लियो, त्यही नेतृत्व आज छानबिन समितिको मागलाई ठाडै अस्वीकार गर्दै घमण्डको शिखर चढिरहेको छ । यो कस्तो विडम्बना हो ?

ओलीको भाषणमा न त लज्जा छ, न पश्चात्ताप, न नैतिकताको कुनै छाया । उनको अराजक अभिव्यक्तिले लोकतन्त्रको आत्मालाई कुल्चने प्रयास गरिरहेको छ । जनताको आक्रोशलाई उक्साएर, राज्य संयन्त्रप्रति घृणा फैलाएर र कानुनी प्रक्रियालाई खुलेआम चुनौती दिएर उनी देशलाई गृहयुद्धको खतरनाक खाडलतिर धकेल्दै छन् । उनको यो उन्माद केवल राजनीतिक दम्भ होइन, यो राष्ट्रिय एकता र सामाजिक सद्भावमाथिको आक्रमण हो । असहमति राख्नेलाई ‘दलाल’ को बिल्ला भिराएर आफ्ना कुकृत्य लुकाउने यो शैली अब जनताले बुझिसकेका छन् । 

नेपाल आज संवेदनशील मोडमा उभिएको छ । यस्तो बेलामा ओलीजस्ता नेताहरू मञ्चबाट हास्यास्पद शैलीमा उक्साहट फैलाउँदै छन्, जुन असह्य र खतरनाक छ । नेपालले लामो समय रक्तपात र हिंसाको चक्रव्यूह भोगिसकेको छ । अब फेरि कुनै सत्तालोलुप, आत्मकेन्द्रित र अहंकारी नेताको उक्साहटले देशलाई गृहयुद्धको आगोमा धकेल्न दिनु हुँदैन । 

–सन्तोष सिम्खडा, टोकियो, जापान

कान्तिपुर

Link copied successfully