यो आन्दोलनको उपलब्धि र परिणामलाई धोका दिने काम कहींकतैबाट गरिए अझ भयानक परिणाम बेहोर्न हामी तयार हुनुपर्छ । त्यसैले आन्दोलनका माग पूरा गर्न खुट्टा कमाउने काम कतैबाट नहोस् ।
काठमाडौँ — सधैं ‘बा’ प्रधानमन्त्री बेहोरेका हामीले बल्लतल्ल जेन–जी पुस्ताको आन्दोलन र कुर्बानीको परिणामस्वरूप ‘आमा’ प्रधानमन्त्री पाएका छौं । हाम्रा लागि यो ठूलो उपलब्धि हो ।
जेन–जी आन्दोलन यत्तिकै भएको होइन । जनताको मनभित्र उकुसमुकस भएर रहेका कुरा यसै आन्दोलनमार्फत विस्फोट भएका हुन् । यस कुरालाई विशेष हेक्का राख्नुपर्यो ।
त्यसैले यो आन्दोलनको उपलब्धि र परिणामलाई धोका दिने काम कहींकतैबाट गरिए अझ भयानक परिणाम बेहोर्न हामी तयार हुनुपर्छ । त्यसैले आन्दोलनका माग पूरा गर्न खुट्टा कमाउने काम कतैबाट नहोस् ।
वास्तवमा जेन–जी आन्दोलनको उद्देश्य केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान बनाउनका लागि मात्र भएको थिएन । देशमा आमूल परिवर्तन र जनजीविकाका सबाल सम्बोधन हुन्छन् भन्ने पनि यस आन्दोलनको मकसद हो । अहिलेकी प्रधानमन्त्री कानुनको आफैं ज्ञाता हुनुहुन्छ । उहाँलाई कानुन सिकाइरहनु पर्दैन ।
उहाँ जुन बाटोबाट प्रधानमन्त्री बन्नुभयो, जसरी उहाँले शान्तिपूर्ण ढंगले संसद् विघटन गराउनुभयो, त्यसै गरी मुलुकमा निर्वाचन गराउने र निर्वाचित जनप्रतिनिधिलाई सरकारको जिम्मा लागाउनुहुनेछ भन्नेमा किञ्चित पनि शंका छैन । तर, जनताको एउटै प्रश्न छ– ६ महिनापछि हुने निर्वाचनबाट फेरि तिनै भ्रष्ट अनुहार निर्वाचित हुने र सरकारको नेतृत्व गर्ने अवस्था कुनै हालतमा पनि आउनु हुँदैन ।
त्यसो भयो भने निर्वाचन गराएर देशको ढुकुटी सक्ने काम मात्र हुनेछ । निर्वाचन गराउनकै लागि त ओली सरकार पनि काफी थियो । यत्रो आन्दोलन र ७४ जनाको बलिदान दिनुपर्ने दरकार नै थिएन । त्यसैले तपाईंजस्तो निर्भीक ‘आमा’ प्रधानमन्त्रीले जेन–जीका माग पूरा गर्ने र निर्वाचन गराएर युवा पुस्तालाई सत्ता हस्तान्तरण गर्नु हुनेछ भन्ने आशा गर्नु कदापि अन्यथा हुने छैन । जेन–जीका माग भनेकै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली खारेज र संघीयताबारे पुनर्विचार नै है ।
जनतालाई निर्वाचन मात्रै होइन, सुशासन पनि चाहिएको छ । हरेक पार्टीमा युवाले नेतृत्व गर्नुपर्छ । नेताले प्रधानमन्त्री छान्ने होइन, अब जनताले प्रधानमन्त्री रोज्न पाउनुपर्छ अनि मात्र जेन–जीका माग पूरा हुनेछन् । ३५ वर्षदेखि यिनै पुराना र बूढा पुस्ताको शासन बेहोरियो । अब पनि यिनकै शासन जनतालाई मञ्जुर छैन । जेन–जी यही परिवर्तन चाहन्छ । ‘आमा’ प्रधानमन्त्रीबाट जेन–जीले चाहेको परिवर्तन पनि यही हो । जेन–जी हाम्रो भविष्य हो, उनीहरूका माग बेवास्ता गर्ने काम नगरियोस् ।
–कल्पना घिमिरे, नयाँबानेश्वर, काठमाडौं
...
दोषी नउम्कियून्
आफ्नै घर बचाउन नसक्ने सेनाले देश र जनताको सुरक्षा कसरी गर्ला भन्ने प्रश्न पनि उठिरहेका छन् । सेनाको दायित्व र कर्तव्यबारे यसरी प्रश्न उठ्नु दुःखद हो । तर, देश आगोको ज्वालामा दनदनी बलिरहँदा सेना रमिते भएर बसेको कसरी सह्य हुन्छ र ? जनताले आफ्नो अभिभावक र सुरक्षाको पोख्त टुकडी मानिरहेको सेना रमिते बनेको र साइत हेराएर जब धेरै भौतिक संरचना जलेर खरानी बन्यो, भदौ २४ को राति १० बजेपछि मात्रै सेना गस्तीमा ओर्लिनु कदापि पनि राम्रो कुरा थिएन ।
देशमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् भन्नेजस्ता माग राखेर जेन–जीले भदौ २३ मा काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । त्यस शान्तिपूर्ण आन्दोलनको प्रत्यक्षदर्शी एक नागरिक म पनि थिएँ । सबै जना हाँसीखुसी नै देखिन्थे । तर, मध्याह्नतिर कहाँबाट को आयो, कसको आदेश आयो– त्यो भीडमा घुसपैठ भयो । शान्तिपूर्ण आन्दोलन एकाएक विध्वंसतिर लाग्यो । प्रहरीले अन्धधुन्ध अश्रुग्यास, हवाई फायर र गोली नै चलायो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीको ज्यादतीमा परी १९ जना युवाले एकै दिन ज्यान गुमाउनुपर्यो । यो कालो इतिहासलाई युवा पुस्ताले कहिल्यै पनि बिर्सिने छैन ।
भदौ २४ को प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति भवन, विभिन्न सञ्चारगृह र व्यापारिक महल, औद्योगिक क्षेत्र र निजी घर–सम्पत्तिमा आगजनी र तोडफोड गरियो । यो कार्य गलत थियो । यो काम जेन–जी पुस्ताले गर्दै गरेको होइन । त्यसैले यसको उचित छानबिन हुनैपर्छ । सरकारले हालै गठन गरेको छानबिन समितिले यी सबैको यथार्थ छानबिन गरोस् । दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं
