जेन–जीका माग अलपत्र नपारियोस्

कतिन्जेल हामीले एउटै व्यक्ति प्रधानमन्त्री बनेको हेर्नुपर्ने हो ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको जेन–जी बटमलाइनबाट उनीहरूलाई भड्काउने प्रयास र दबाब नदिऔं ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

The demands of Gen-Ji should not be shelved

काठमाडौँ — जेन–जीको आन्दोलन र कुर्बानीलाई ख्याल–ख्याल सम्झने काम कसैले नगरौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि कांग्रेस र एमाले तयार देखिएका छैनन् । यो सरासर गलत हो ।

युवाका आवाज सुन्न नसक्ने दल युवाको दल बन्नै सक्दैन । एमाले र कांग्रेसमा पनि रूपान्तरणको आवश्यकता छ । सधैं बुढा नेताले देशको बागडोर सम्हालेर भएन । अब युवालाई अघि बढाउनुपर्‍यो । 

कतिन्जेल हामीले एउटै व्यक्ति प्रधानमन्त्री बनेको हेर्नुपर्ने हो ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको जेन–जी बटमलाइनबाट उनीहरूलाई भड्काउने प्रयास र दबाब नदिऔं । जे उद्देश्य राखेर आन्दोलन भएको थियो, ती माग पूरा हुँदैनन् भने आन्दोलनको अर्थ रहँदैन । ७४ जनाको बलिदान खेर नजाओस् । कसले जित्छ र कसले हार्छ भन्ने कुरासँग मतलब छैन ।

जनताले जसलाई जिताउँछन्, उही प्रधानमन्त्री बन्छ । एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने र जनताले चाहेको व्यक्ति प्रधानमन्त्री हुन नपाउने विधि प्रजातान्त्रिक पद्धति हुनै सक्दैन । यस्तो प्रथाको अन्त्य आवश्यक छ । प्रजातन्त्रको नाम जपेर नेताले राज गर्ने व्यवस्थालाई प्रजातन्त्र मान्न सकिँदैन । जनतामाथि जनताले शासन गर्ने व्यवस्थालाई प्रजातन्त्र भनिन्छ तर दुःखलाग्दो कुरो नेपालमा यसविपरीत भएको छ । 

आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले जनताको माग सुन्न सकोस् । हामीले चुनेको प्रधानमन्त्री हाम्रो हो, हामीले भोट हाल्न नपाएको प्रधानमन्त्री हाम्रो कसरी हुन्छ ? दलका नेताले चुनेको प्रधानमन्त्री हामीले ३५ वर्षसम्म हेर्‍यौं, उनीहरूले गरेको कार्य पनि हेरियो ।

अब हामीले नै हाम्रो प्रधानमन्त्री चुन्ने हो । त्यसको विकल्प सोच्न सकिँदैन । जब जनताले प्रधानमन्त्री छान्ने अवसर पाउँछन्, तब मात्र प्रधानमन्त्री जनताप्रति उत्तरदायी बन्छन् । जेन–जीले जुन माग राखेर आन्दोलन गरेका थिए, तिनप्रति बेवास्ता नगरियोस् । जेन–जीका माग अलपत्र नपारियोस् । –पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं 

कान्तिपुर संवाददाता

Link copied successfully