कमिसनको लोभमा सम्बन्धित सरकारी निकायले ठेक्काको म्याद बर्सेनि थपिरहने, ठेकेदारको लापरबाही, ढिलासुस्तीका कारण वर्षौंदेखि नारायणगढ–बुटवल खण्ड सहज रूपमा सञ्चालन हुन सकेको छैन ।
काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएको दुःखदायी अवस्थाबीच मनसुनी वर्षा लम्बिएपछि सर्वसाधारणलाई बडादसैंमा आवतजावतको कठिनाइले अर्को पीडा थपेको छ ।
खासगरी सडक यातायातमा भर पर्ने यात्रुलाई राजमार्गहरूमा पहिरो खसिरहँदा बीचबाटोमै अलपत्र पर्ने अवस्था देखिएको छ । मनसुनी वर्षाले दर्जन बढी सडकमा क्षति पुर्याए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने र मुग्लिन–नारायणगढ क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिँदा भीडभाड खेप्दै गाडीमा यात्रा गर्नेहरू दुःखकष्ट सहन बाध्य छन् ।
कमिसनको लोभमा सम्बन्धित सरकारी निकायले ठेक्काको म्याद बर्सेनि थपिरहने, ठेकेदारको लापरबाही, ढिलासुस्तीका कारण वर्षौंदेखि नारायणगढ–बुटवल खण्ड सहज रूपमा सञ्चालन हुन सकेको छैन । त्यसमाथि दाउन्नेको भिरालो क्षेत्रले थप समस्या खडा गरिरहेको छ ।
एकातिर मुलुकको अधिकांश ठाउँबाट नागरिकको आवतजावत हुने उक्त सडक राम्रोसँग नचल्दा लाखौं मानिसको दैनिकी कष्टकर बनेको छ भने अर्कोतिर सडकको दुरवस्थाका कारण विदेशी पर्यटक प्रताडित भएसँगै विश्वभर नेपालको बदनामी बढेको छ ।
यता वर्षायाम, सुक्खायाममा पहिरो खसिरहने मुग्लिन–नारायणगढ सडक खण्ड कहिल्यै भरोसायोग्य बन्न सकेको छैन । पछिल्लो समय तुइन खोलामा निरन्तर खसिरहने र पन्छाउनै हम्मेहम्मे पर्ने गरी सडकमा थुप्रिएको ढुंगामाटोका कारण दुवैतर्फका यात्रु अलपत्र परेका छन् ।
गएको ३६ वर्षमा वैकल्पिक बाटो बनाउन नसक्ने पूर्वसरकारहरूमाथि विष वमन गर्न सबै बाध्य छन् । भन्ने हो भने उक्त सडक बनाउँदा जति खर्च लागेको थियो, अहिलेसम्म मर्मतका लागि त्यसको बीसौं गुणा रकम सकिँदासमेत समस्या २० को १९ हुन सकेको छैन ।
सत्ताधारी, योजनाकारहरूले बगिरहने भीरको फेदमा पक्की सडक बनाएर ढुंगामाटो नखस्ने कुविचार पालेर मर्मतबाट प्राप्त कमिसनले भुँडी भर्दै आएका छन् । देशविदेशबाट ओइरिएका सर्वसाधारणलाई राजमार्गको दुर्दशाले थपेको मानसिक पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । युवाहरूको अकाल मृत्यु, हवाईजहाजको भाडा वृद्धि, सडकको दुरवस्थासमेतका कारण धेरैलाई यसपालिको दसैंमा घर पुग्न सास्तीमाथि सास्ती थपिएको छ ।–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
