बर्बरताको नमुना : २२ सय पटक हवाई फायर र ३२ सय सेल अश्रुग्यास प्रहार

जेन–जी आन्दोलनका क्रममा अर्धस्वचालित एसएलआर बानेश्वरमा प्रयोग भएको प्रहरीले नै स्वीकार गरेको छ ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Example of barbarism: 2200 aerial fire and 3200 cells of tear gas

काठमाडौँ — सरकारको भ्रष्टाचार, शोषण, दमन एवं कुशासन र स्वेच्छाचारविरुद्ध शान्तिपूर्वक आन्दोलनमा उत्रिएको जेन–जी पुस्तामाथि तत्कालीन केपी शर्मा ओली सरकारले गरेको बर्बरतापूर्वक गोली वर्षाको जति निन्दा गरे पनि कमै हुन्छ ।

भदौ २३ मा सुरु भएको आन्दोलन २४ को प्रदर्शनसँगै टुंगिएको थियो । यस क्रममा ७४ जनाको मृत्यु भएको र सो नरसंहारमा प्रयोग गरिएका हतियारमध्ये सरकारी १ हजार २ सय ७६ राइफल/पिस्तोल, ९८ हजार ४ सय ९१ गोली हराएको प्रहरीले जनाएको छ । 

कान्तिपुरमा प्रकाशित ‘प्रहरी रिपोर्ट : १२७६ थान राइफल र पिस्तोल लुटिए, ९८ हजार ४९१ थान गोली अभिलेखबाट हराए’ शीर्षक समाचार खोजमूलक लाग्यो । समाचारमा उल्लेख भएअनुसार १ हजार ३ सय १५ राउन्ड रबरका गोली अभिलेखबाट घटेकामा प्रहरीले कति प्रयोग गर्‍यो, त्यसको यकिन हुन बाँकी छ भने भदौ २३ र २४ मा २ हजार २ सय २० पटक हवाई फायर र ३ हजार २ सय २३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरी तथ्यांक छ । 

जेन–जी आन्दोलनका क्रममा ५ सय २५ सवारीसाधनमा क्षति पुगेको, १४ हजार ४३ कैदीबन्दी भागेकामा ७ हजार २ सय ८९ अझै सम्पर्कविहीन रहेको बताइएको छ । जेन–जी आन्दोलनका क्रममा अर्धस्वचालित एसएलआर बानेश्वरमा प्रयोग भएको प्रहरीले नै स्वीकार गरेको छ ।

तत्कालीन सरकारले जेन–जी पुस्तामाथि गरेको बर्बरता शब्दमा बयान गर्नै सकिँदैन । कलिला बालबालिकामाथि २२ सय पटकभन्दा बढी हवाई फायर र ३२ सय 

सेलभन्दा बढी अश्रुग्यास प्रहार गरिनु बर्बरताको नमुना हो । कलिला बालबालिकामाथिको यो स्तरको हिंसालाई कुनै मानेमा पनि क्षमा दिन सकिँदैन । यो अक्षम्य अपराध सिवाय केही होइन । – गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

कान्तिपुर

Link copied successfully