नैतिक रूपमा पूर्णतः पराजय र विफल भएका कुनै नेता पनि नेतृत्वबाट बिदा भएका छैनन् ।
काठमाडौँ — देशमा यति ठूलो उथलपुथल भयो । विश्वमा कहीं नभएको २७ घण्टामै यहाँ सत्ता परिवर्तन भयो । तर पनि हाम्रा पुराना दलका वृद्ध नेतामा कुनै चेत पलाएको देखिएन । कसैमा पनि अब युवाहरूलाई नेतृत्व दिएर बाँकी रहेको आफ्नो इज्जत जोगाऔं भन्ने सोच आएको देखिएन ।
आन्दोलन सफल भएर मुलुकले नयाँ प्रधानमन्त्री पाएको १० दिन बितिसक्दा पनि कुनै एक वृद्ध नेताको त्यागपत्र आएको छैन । नैतिक रूपमा पूर्णतः पराजय र विफल भएका कुनै नेता पनि नेतृत्वबाट बिदा भएका छैनन् ।
कांग्रेस, एमाले र माओवादीमध्ये कुनै एक पार्टीको शीर्ष नेताको राजीनामा आउनासाथ अर्को नेतालाई पनि पद त्यागको दबाब पर्ने थियो । वृद्ध नेताहरूलाई पद हस्तान्तरण र रूपान्तरण गर्ने यो सुवर्ण अवसर पनि थियो ।
वृद्ध नेतृत्वले पद त्याग गरुन् भन्ने माग जेन–जी पुस्ताको मात्र होइन, आमजनताको साझा माग हो, भावना हो । देश तिनै नेताको कुशासन र भ्रष्ट आचरणका कारण खरानी हुँदासमेत उनीहरूमा पद हस्तान्तरण गरौं भन्ने चेत नपलाउनु दुर्भाग्य हो । तीन पार्टीका युवा पुस्ता पनि अब नेतृत्वलाई च्यालेन्ज गर्दै अगाडि बढ्नुपर्यो । स्वाभाविक ढंगले पद हस्तान्तरण नगरे जेन–जी पुस्ताबाटै सिकेर भए पनि पुरानो नेतृत्वलाई गलहत्याउनुपर्यो । त्यति दमखम त युवाहरूले देखाउनै पर्यो । –गोपाल देवकोटा, काठमाडौं
देशमा अब ६० नाघेका नेताले विश्राम लिनुपर्छ । उनीहरूले पार्टीमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । युवा पुस्तालाई अघि सार्नु नै अहिलेको समयको माग हो । यसलाई सबैले मनन गर्न जरुरी छ ।
नेता भनेको नेतृत्व लिन सक्ने हुनुपर्छ । अर्काको सहारामा हिँड्नुपर्ने नेताले के नेतृत्वदायी भूमिका निभाउलान् ? अब फेरि केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेताले मेरो नेतृत्वमा पार्टी चल्नुपर्छ भन्नु सरासर गलत हो । जनताले तिरस्कार गरेका व्यक्तिले कहिलेसम्म देशको शासन सत्ता चलाउने ? ३५ वर्ष भयो, नेपाली जनताले यिनको राजकाज हेरेको । आजसम्म यिनले के गरे भन्ने कुरा सबैसामु छर्लंग छ । अब कांग्रेसमा गगन थापाहरूले, एमालेमा सुरेन्द्र पाण्डेहरूले र माओवादी केन्द्रमा जनार्दन शर्माहरूले नेतृत्व लिन अघि सर्नुपर्ने बेला आएको छ । यसमा त्यसभन्दा तलको युवा पुस्ता तयार भएर नेतृत्व गर्न तयार भयो भने उनीहरूलाई नेतृत्व दिँदा पनि फरक पर्दैन ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
