रोम जलिरह्यो, निरो बाँसुरी बजाउनमै मस्त

अहिलेका शासक र प्रशासकहरूको सत्ताको हुटहुटीले निम्त्याएको दुःखद् घटनाबारे भने त्यही रोम जलिरहेको घटनाको याद आउँछ ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Rome was burning, Nero was playing the flute

काठमाडौँ — देशमा जब जघन्य अपराधका घटना तथा राज्य दमनविरुद्धमा आन्दोलन हुन्छ, तब इतिहासको याद पनि मानसपटलमा घुमिरहन्छ । इतिहासले कहिलेकाहीं यस्ता दर्पणको पनि याद दिलाउँछ, जसमा वर्तमानको पीडा, विकृति, विसंगति पनि नांगै प्रतिविम्बित हुन्छन् । 

गत भदौ २३ र २४ का घटना केलाउँदा इतिहासको रोम, बंगलादेश र श्रीलंकाको याद आयो र केही स्मरण गराउन बाध्य भएँ । झन्डै १५०० वर्षअगाडि रोम साम्राज्य ढल्दाको बखतमा रोम जलिरहेको थियो तर निरो भने बाँसुरी बजाउन व्यस्त थिए ।

रोम साम्राज्यमा चलिरहेको राजनीतिक क्रान्तिले निरोलाई छुन सकिरहेको थिएन । त्यसैलाई चिनाउने उखान अहिलेसम्म प्रख्यात छ । जसले गर्दा अहिलेका शासक र प्रशासकहरूको सत्ताको हुटहुटीले निम्त्याएको दुःखद् घटनाबारे भने त्यही रोम जलिरहेको घटनाको याद आउँछ । 

वास्तवमा रोम जलिरहेको थियो तर त्यहाँका शासक निरो भने त्यस्तो भयानक घटनाको बेवास्ता गर्दै बाँसुरी बजाइरहेका थिए । यसैको फलस्वरूप सन् ४७६ सेप्टेम्बरमा रोमको अन्तिम सम्राटको सत्ता ढलेको थियो । इतिहासकार टेसिसका अनुसार क्रिश्चियनहरूलाई घृणाको दृष्टिकोणबाट हेरिन्थ्यो । पछि निरोले आगो लगाएको निहुँमा उनीहरूलाई पक्राउ गर्न निर्देशन दिन थाले । र, उनीहरूको मारिएको शव कुनै जंगली जनावरका अगाडि फाल्न लगाए ।

निरो रोमको सहरी भागभन्दा बाहिर कुनै महलमा लुकेर बसेको खबर थाहा पाएपछि सुरक्षाकर्मी उनलाई पिछा गर्दै त्यहाँ पुग्नुभन्दा अगाडि नै उनले बढो निर्ममताका साथ आत्महत्या गरिसकेका थिए । यसरी एउटा क्रूर शासकको अन्त्य भएको इतिहास पढ्न पाइन्छ । तर उनले मृत्युभन्दा केही क्षणअगाडि भनेको वाक्य ‘म आफ्नो मृत्युमा पनि कलाकारै भएर मरें’ ले मानिसको मन अझै पनि भावुक हुन्छ । 

यस्तै गत वर्ष साउन महिनामा बंगलादेशमा सत्ताको मनोमानी प्रवृत्ति, सरकारी जागिरका लागि रहँदै आएको निश्चित कोटा प्रणालीलाई कटौती गर्नुपर्ने र सुशासनको माग गर्दै विद्यार्थीले गरेको महिनौं दिनदेखिको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको विदेश बहिर्गमन भएको थियो ।

अहिले उनी भारतमा निर्वासित जीवन जिउन बाध्य छिन् । त्यस्तै श्रीलंकामा देखिएको आर्थिक संकटका कारण सत्तामा बस्नेहरूको मनोमानीविरुद्ध सर्वसाधारण जनताको आक्रोशका कारण राष्ट्र्रपति भवन कब्जा गरी राष्ट्र्रपति राजापाक्षको पतनको शृंखला सुरु भयो । 

यसरी नै नेपालका राजनीतिक दलहरूलाई छिमेकी राष्ट्र्रहरूको पतनको मार्ग किन र कसरी भन्ने कुराहरू पनि थाहा थियो र बारम्बार मिडियामा पनि आउने गर्दथ्यो कि नेपाल अब धेरै भ्रष्टाचार गर्ने मुलुकमा गनिन थाल्यो र बंगलादेश र श्रीलंकामा जस्तो जनताको विरोधका कारण यहाँका नेताले सत्ता छोड्नुपर्ने बाध्यता पनि नआउला भन्न सकिन्नथ्यो । आखिर त्यस्तै भयो । भदौ २३ र २४ मा नेपालमा जेन–जी पुस्ताका नाममा भएको आन्दोलनले शासकलाई सत्ताबाट लखेटेरै छोड्यो । –खिमराज गिरी, काठमाडौं

कान्तिपुर

Link copied successfully