पार्टी कार्यालय मात्र भव्य बनाउने कि देश पनि ?

संघर्ष र आन्दोलनका नाममा यो देश अनेकौं पटक ध्वस्त भएको छ । हालैको जेन–जी आन्दोलनले फेरि पनि देशलाई ठूलो घाउ दिएको छ ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Make the party office only grand or the country too?

काठमाडौँ — जेन–जी आन्दोलन मत्थर भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भए । सायद आन्दोलनले सल्काएको आगो अझै निभेको थिएन । आगो निभेका ठाउँमा खरानी सेलाएको थिएन । दाहालको घर जल्यो, पार्टी कार्यालय जल्यो ।

उनीहरूजस्ता धेरैका घर जले, पार्टी कार्यालय जले । सिंहदरबार र अदालत जलेको सहरमा धेरै कुरा जलेका छन् । संघर्ष र आन्दोलनका नाममा यो देश अनेकौं पटक ध्वस्त भएको छ । हालैको जेन–जी आन्दोलनले फेरि पनि देशलाई ठूलो घाउ दिएको छ । यस क्रममा पार्टी कार्यालयदेखि सरकारी सम्पत्तिसम्म जलेर खरानी भए ।

तर, यस बीचमा दाहाल र अरू दलका नेताहरूले दिएका प्रतिक्रिया सुन्दा नागरिक स्तब्ध भएका छौं । आफ्नो पार्टीको कार्यालय खरानी भएकामा ‘अझ ठूलो र सुन्दर भवन बनाउने’ संकल्प गर्न त दाहालले ढिलाइ गरेनन्, तर देशका विद्यालय, सरकारी कार्यालय र सर्वसाधारणका संरचना जलेर नष्ट हुँदा पीडित जनताप्रति दुःख प्रकट गर्ने संवेदनशीलता भने उनमा देखिएन ।

राजनीतिक दलको कार्यालय पुनर्निर्माण सजिलो छ । पैसा उठाउन सकिन्छ, ठेकेदार खोज्न सकिन्छ, भव्य भवन फेरि खडा गर्न सकिन्छ । तर, जनताको भरोसा र विश्वास पुनर्निर्माण गर्न त्यति सजिलो हुँदैन । पार्टीका कार्यालयको मात्र चिन्ता देखियो तर अदालत जलेका छन्, सिंहदरबार जलेको छ, जनतालाई सेवा प्रवाह गर्ने कैयौं प्रशासनिक भवन जलेका छन्, यसको चिन्ता देखिएन । आन्दोलनमा मारिएकाप्रति दुःख प्रकट गरिएन । मृतकका परिवारप्रति सहानुभूति पनि देखिएन । 

आजको आवश्यकता भवन होइन, संस्कार पुनर्निर्माणको हो । जनताको घाउमा मल्हम लगाउने, सम्पत्तिको क्षति साझा पीडा हो भनेर स्वीकार गर्ने एवं राज्य र नागरिकबीचको भरोसा पुनःस्थापित गर्ने संकल्प लिनु पहिलो दायित्व हो ।

देशले नेताहरूलाई बारम्बार अवसर दिएको छ । तर, जनताले बारम्बार निराशा मात्र पाएका छन् । अब पनि पार्टी नेतृत्वले जनताप्रति वास्तविक संवेदनशीलता देखाउन सकेन भने अर्को पुस्ताले दाहालजस्ता नेतालाई ‘भवन उठाउने तर विश्वास गुमाउने नेता’ का रूपमा मात्रै सम्झिनेछ । यसकारण अझै पनि समय छ– जनताका पीडा महसुस गर्ने, उनीहरूको घाउमा मल्हम लगाउने र राजनीति भनेको केवल दलको भवन होइन, सम्पूर्ण राष्ट्रको भविष्य हो भन्ने प्रमाणित गर्ने । माओवादी केन्द्रका अध्यक्ष दाहालको यसप्रति पनि चिन्ता र चासो जाओस् । 

–कृष्णप्रसाद शर्मा, नयाँ बानेश्वर, काठमाडौं

कान्तिपुर

Link copied successfully