What you should know
काठमाडौँ — मुलुकमा व्यापक भ्रष्टाचार, शोषण, दमन एवं स्वेच्छाचारितामा लिप्त कुशासनविरुद्ध १३ देखि २८ वर्षसम्मका जेन–जी पुस्ता सडकमा आई दुई दिनमै सत्तापलट गरिदिए । तत्कालीन केपी शर्मा ओली सरकारले गरेको बर्बरतापूर्ण दमनका कारण ७३ जनाले सहादत प्राप्त गरे । प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटको सीमै रहेन ।
दशकौंदेखिका मूलधारमा रहेका सबैजसो राजनीतिक दलको मूल नेतृत्व अहंकार र दम्भमा लिप्त हुँदा यो स्थिति आएकामा शंका छैन । सरकारको गलत नेतृत्वकै कारण मुलुकमा अनायास आइपरेको विषम परिस्थितिले देशलाई निकास दिने एकमात्र उपायका रूपमा आगामी फागुनमा निर्वाचन सम्पन्न गर्ने गरी संसद्को विघटन र अन्तरिम सरकार गठन भएको छ । तर, विगतमा झैं अन्तरिम सरकारलाई बिना कारण यो वा त्यो बहानामा लम्ब्याउने र अस्थिरता सिर्जना गर्ने छुट यो सरकारलाई छैन । यस्तो संकटका बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेछ । हाम्रा बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक दयनीय छन् । त्यसमाथि व्यवसायीहरूले ठूलो क्षति ब्यहोर्नुपरेकाले उनीहरूको मनोबल कमजोर भएको छ । यस्तो स्थितिमा अर्थतन्त्रलाई गतिशील बनाउने चुनौती पनि छ ।
जेन–जी आन्दोलनले ल्याएको उथलपुथलले अन्ततः सकारात्मक निष्कर्ष पाएको छ । आन्दोलनका आधारमा देशले एक सक्षम र अनुभवी पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीका रूपमा पाएको छ । पाको उमेरकी तर मुलुकको चौतर्फी अवस्था बुझेकी सुशीला कार्कीले इतिहास रच्ने विश्वास छ । प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्मित सरकारका लागि जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो । नेपाललाई आवश्यक परेको अवस्थामा यो सरकारले अन्तर्राष्ट्रिय मित्रहरूको सहयोग पनि लिनुपर्ने हुन्छ, जसका लागि अन्य देशसँग पारदर्शी किसिमले कूटनीतिक सम्बन्ध र सहकार्य बढाउनुपर्नेछ ।
ध्वस्त भएका सार्वजनिक संरचनाको पुनर्निर्माण, व्यवसायीलाई हौसला र आशा दिलाउने कार्यको थालनी पनि छिट्टै गर्नुपर्नेछ । विद्यमान असाधारण र ऐतिहासिक चुनौतीलाई अवसरका रूपमा लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्री कार्की सक्षम हुनेछिन्, अहिलेलाई यत्ति विश्वास गरौं ।
–गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची
