गोली हान्न आदेश दिनेलाई कारबाही गर

काम गर्ने उमेरका लाखौं युवालाई परदेशमा पठाएर मुलुकभित्रै अवसर नदिने संरचना उनीहरूले अस्वीकार गरेका छन् ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Take action against those who gave the order to shoot

What you should know

काठमाडौँ — हिजो माइतीघर मण्डलमा देखिएको दृश्य सामान्य प्रदर्शन मात्र थिएन, यो राष्ट्रको भविष्यले दिएको चेतावनी पनि हो ।

हातमा प्लेकार्ड बोकेका, अनुहारमा असन्तोष र साहस प्रकट गरेका युवायुवतीले भ्रष्टाचारको अन्त्य र राजनीतिक परिवारको सम्पत्तिमा पारदर्शिता कायम गर्नुपर्ने, साथै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर डिजिटल स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने मागलाई जोड्दै आफ्नो आवाज उठाए ।

यी माग मात्र होइनन्, युवाले उठाएका प्रत्येक नारा, प्रत्येक कदम नै भविष्यको दृष्टिकोण हो– राष्ट्रमा पारदर्शिता, स्वतन्त्रता र न्यायको सुनिश्चितता चाहिएको संकेत ।

यही माग र आदर्शका लागि उनीहरूले सडकमा उभिएर आवाज उठाएका छन् । यही कारण यो प्रदर्शन केवल विरोध होइन, युवाको विद्रोह बनिसकेको छ । 

जेन–जी पुस्ताका युवाहरूको प्रदर्शनमा देखिएका माग कुनै असम्भव सपना होइनन् । बरु, यी माग आजको नेपाली समाजको गहिरो आकांक्षा हुन् । उनीहरूले स्पष्ट सन्देश दिएका छन्—पुरानो शैलीको राजनीति, नातावाद र ठेकेदारीमा अडिएको शासन अब टिक्दैन । काम गर्ने उमेरका लाखौं युवालाई परदेशमा पठाएर मुलुकभित्रै अवसर नदिने संरचना उनीहरूले अस्वीकार गरेका छन् ।

युवापुस्तालाई बुझ्न सरकारलाई सजिलो छैन । किनभने उनीहरू केवल सडकमा मात्र होइन, डिजिटल संसारमा पनि उभिएका छन् । फेसबुक, एक्स वा टिकटकमा उठेका विचार, असन्तोष र मागहरू अन्ततः सडक, संसद् र मतदान केन्द्रसम्म पुग्छन् ।

सामाजिक सञ्जाल रोक्ने वा आवाज दबाउने प्रयासले समाधान दिन सक्दैन । उल्टै, यसले असन्तोष अझै बलियो बनाउँछ र निश्चित क्षेत्रमा भएको आन्दोलनलाई राष्ट्रिय आन्दोलनको रूप दिनेछ । 

आज उठाइएका मागलाई हल्का रूपमा लिनु हुँदैन । भ्रष्टाचारविरुद्ध छानबिन र पारदर्शिता अब नागरिकको न्यूनतम अपेक्षा हो । डिजिटल स्वतन्त्रता कुनै विलासिता होइन, नागरिकको आधारभूत अधिकार हो । प्रत्यक्ष लोकतन्त्रको प्रस्ताव पुरानो दलकेन्द्रित अभ्यासलाई चुनौती हो । शिक्षा, स्वास्थ्य र रोजगारीमा 

लगानी भनेको मुलुकको भविष्यमा लगानी हो, यसलाई बेवास्ता गर्ने छुट सरकारसँग छैन । यदि सरकारले अझै पनि जेन–जी पुस्ताको आवाजलाई गम्भीरतापूर्वक नलिने हो भने यो आन्दोलन असन्तोष मात्र होइन, राष्ट्रिय परिवर्तनको बीज बन्न सक्छ । इतिहासले प्रमाणित गरिसकेको छ– युवाको आवाज दबाएर कुनै शासन टिक्दैन । –सन्तोष सिम्खडा, टोकियो, जापान

कान्तिपुर

Link copied successfully