प्रधानमन्त्रीज्यू ! सत्ताभन्दा माथि मानवीय जिम्मेवारी पनि छ

प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई ‘सामान्य रूपमा गाडीले छोयो’ भनेर सामान्यीकरण गर्नु, केवल राजनीतिक सुरक्षाको संकेत मात्र होइन, मानवीय संवेदनाको पूर्ण अभाव देखाउने कदम हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister! Above power is also human responsibility

What you should know

काठमाडौँ — कोशी प्रदेशका मन्त्री रामबहादुर मगर सवार गाडीले जेब्रा क्रसिङमा एक बालिकालाई ठक्कर दियो । ललितपुर महानगरपालिकाको हरिसिद्धिनिर ती बालिकालाई मन्त्रीको गाडीले ठक्कर दिएको थियो ।

बालिका घाइते भइन् तर गाडी रोकिएन । उल्टै दुर्घटनास्थलबाट भाग्नुभयो र त्यसको भिडियो सामाजिक सञ्जाल र समाचारहरूमा हेर्दा अत्यन्त दर्दनाक अनुभूति भयो । राज्यको उच्च तहमा बसेको मान्छेको यस्तो व्यवहार निकै लाजमर्दो र चिन्ताजनक छ । 

गाडीले जानीजानी हान्न खोजेको पक्कै होइन होला तर जेब्रा क्रसिङमा पुगेपछि गति कम गर्नु, सडक छेउमा बच्चा हिँड्दा सावधानी अपनाउनु यी त ‘बेसिक’ ट्राफिक नियम नै हुन् । नहुनुपर्ने दुर्घटना भइहाल्यो ।

तर, त्यसपछिको व्यवहारले मात्र होइन, यसमा संलग्न राजनीतिक नेतृत्वको प्रतिक्रियाले पनि गम्भीर प्रश्न उठाउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई ‘सामान्य रूपमा गाडीले छोयो’ भनेर सामान्यीकरण गर्नु, केवल राजनीतिक सुरक्षाको संकेत मात्र होइन, मानवीय संवेदनाको पूर्ण अभाव देखाउने कदम हो । नेतृत्व भनेको केवल आफ्ना कार्यकर्तालाई बचाउने उपाय खोज्नु होइन, समाजमा मानवीय मूल्य र उदाहरण प्रस्तुत गर्नु हो । 

प्रधानमन्त्रीज्यू, तपाईं देशको अभिभावक हुनुहुन्छ । अभिभावक भन्नाले कानुनका संरक्षक मात्र होइन, हरेक नागरिक– विशेष गरी बालबालिकाप्रति संवेदनशील हुनु, पीडितको सहायता सुनिश्चित गर्नु र जिम्मेवारी स्वीकार गर्नु हो ।

यदि नेतृत्वकर्ताले यस्तो सानो मानवीय कदम लिन नसक्ने हो भने लोकतान्त्रिक राज्यमा दण्डहीनता र सत्ता संरक्षित अपराधको अवस्था बढ्ने निश्चित छ । नेपालको कानुन सबैका लागि बराबर लागू हुनुपर्छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिले अझ बढी जिम्मेवारी लिनुपर्छ । बालिकालाई ठक्कर दिएर भाग्ने, त्यसलाई सामान्य ठान्ने र शक्तिको छायामा अपराध लुकाउने शैलीलाई कुनै हालतमा पनि सही ठहर्‍याउन सकिन्न ।

सत्ताको सुरक्षाभन्दा अघि मानवीय संवेदना, कानुनको पालना र अभिभावकको जिम्मेवारी सर्वोपरि ठान्नुपर्छ ।

सडकमा घाइते बालिका, पीडित परिवार र सम्पूर्ण नागरिक समाज यी सबै तपाईंका सन्तानजस्तै हुन् । अन्ततः, कोशी प्रदेशका मन्त्री रामबहादुर मगरलाई कानुनी कठघरामा ल्याउनैपर्छ । चाहे कुनै पनि पदमा होस्, कानुन सबैका लागि बराबर लाग्नुपर्छ । – सन्तोष सिम्खडा, टोकियो, जापान

हाम्रो देशका मन्त्री कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने कुरा यस घटनाले पनि पुष्टि गरेको छ । जेब्रा क्रसिङबाट बाटो काट्न लागेकी ११ वर्षीया बालिकालार्ई ठक्कर दिएर भाग्ने हाम्रा प्रदेशमन्त्रीलाई के भन्ने ? यस्ता मन्त्रीबाट देश र जनताले के चाहिँ आशा राख्ने ? 

सबभन्दा दुःखलाग्दो कुरा के छ भने मन्त्रीको गाडीले ठक्कर दियो भनेर चौतर्फी आवाज उठ्दासमेत ती आपराधिक मानसिकता भएका मन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । मन्त्री भएपछि जे गर्न पनि पाइने हो ? मन्त्री कानुनभन्दा माथि हुन् ? मन्त्री भएकै कारण यस्तो जघन्य अपराध–कर्म गर्ने व्यक्तिलाई छुट दिइनु हुँदैन । – पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं 

कान्तिपुर

Link copied successfully