तीज गीतको मौलिकता नमासौं

तीज पर्वमा महिलाहरूको नाचगानमा मौलिकता हराउँदै गएको देखिएको छ, यसले गर्दा सांस्कृतिक मूल्य र परम्परामा चुनौती थपिएको छ।

भाद्र १६, २०८२

पाठक पत्र

Let's not forget the originality of the Teej song

What you should know

काठमाडौँ — घरायसी कामको व्यस्तताका बाबजुद नेपालका महिलाले अनेकथरी जिम्मेवारी बहन गरिरहेको यथार्थ कसैबाट लुकेको छैन । गृहिणी हुन् या शिक्षिका अथवा संघसंस्थामा कार्यरत महिला नै किन नहुन्, उनीहरूले कुनै न कुनै किसिमको दुःखपीडा, तनाव, कुण्ठाको सामना गर्नु परिरहेको हुन्छ ।

नारीहरूको महान् पर्व हरितालिका तीजमा सबैजसो महिलाले आफ्नो मन र शरीर हलुका भएको महसुस गर्छन् । माइतीमा बुवाआमा र परिवारका अन्य सदस्यसँगको भेटघाट, भलाकुसारीले विवाहित महिला खुसी हुनु स्वाभाविक छ भने त्यसभन्दा बढी आनन्द उनीहरू नाचगानबाट लिने गर्छन् । 

नेपाली लयले भरिएका गीतसंगीतमा केटाकेटी, वृद्धवृद्धादेखि युवकयुवतीसम्म नरमाउने कोही हुँदैनन् । अर्थात् तीजलाई महिलाको पर्व भनिए पनि समाजका प्रत्येक सदस्यलाई यसले सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यसको कारण एउटै हो, तीज गीतमा रहेको नेपाली मौलिकता । त्यसैले त्यो मौलिकता मास्ने काम नगरौं । 

तीजमा महिलाको आकर्षक नेपाली पहिरन, आकाशमा दौडिरहने बादलको डफ्फा, बेलाबखत हुने वर्षा र जमिनको हरियालीले घरघरको सांगीतिक माहौल अरु परिस्कृत भएको पाइन्छ । सांस्कृतिक र सांगीतिक उत्सव भनिए पनि कतिपय ठाउँमा चेलीको रोदनभरि आवाजसँग पारिवारिक बेमेल, सासूसँगको तनाव, उत्पीडनको झल्को पनि यस्तै तीज गीतमा पोखिएको पाइन्छ । 

तर, केही वर्षदेखि तीज गीतका शब्द, शैली र नाचगान गर्ने स्थलमा परिवर्तन देखिन थालेको छ । पहिला गाउँका चौतारी, खुला ठाउँमा गाउँले लय, स्थानीय शब्दसमेतले नाचगानमा मौलिकता भेटिन्थ्यो, नेपाली लय, शैली र नृत्यमा जीवन्तता पाउन सकिन्थ्यो भने अब सजिएका स्टुडियो, पार्टी प्यालेसलगायतमा कार्यक्रम सञ्चालन भइरहेका छन् । वस्तुतः सुख, सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना गर्दै धार्मिक चाडका रूपमा मनाउने प्रचलन बोकेको तीज पर्वलाई भुल्न सकिँदैन ।

अबको नाचगानमा उच्छृंखलता बढ्दै गएको, कतिपय महिला अत्यधिक मध्यपानले लठ्ठिँदै माहौल बिगार्न तम्सिने गरेको, धर्म र परम्परामाथि प्रहार थपिंदै गएको भन्ने गुनासो पनि सुन्न थालिएको छ । तीज गीतको गरिमामाथि दाग लागेपछि मौलिकता, संस्कार र संस्कृतिमाथि पनि अतिक्रमण हुन थाल्छ । तीज गीतको भाषा, साहित्यलगायतमा नकारात्मक असर नपारौं । नेपालीपन झल्काउने तीज गीतलाई त्यसै रूपमा जगेर्ना गरौं र नेपाली मौलिक परम्परामा आँच आउन नदिऔं । 

–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully