भारतविरोधी मानसिकता बढ्दै गर्दा नेपाल-भारतको मैत्री सम्बन्धमा दरार, समाधानका लागि सरकार प्रमुख र नीति निर्माताको गहन भूमिका आवश्यक।
What you should know
काठमाडौँ — जसरी बीपी कोइरालाले फस्ट पर्सन कूटनीतिबाट उत्तरी छिमेकी चीनसँगको सीमा विवाद समाधान गरेका थिए, त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेमा र हिम्मत गरेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष सिधैं फस्ट पर्सन नोट पठाएर कालापानी र लिपुलेकको सीमा विवाद समाधान गर्न सक्छन् ।
तर यसका लागि प्रधानमन्त्रीले साहस र विवेक प्रयोग गर्न भने जरुरी छ । ‘लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा’ र ‘यसरी समाधान गर्न सकिन्छ सीमा विवाद’ आलेखले अहिले उठिरहेको सीमा विवादलाई समाधान गर्न जुन सुझाव पस्किएका छन्, तिनले समस्या समाधानमा मार्गप्रशस्त गर्ने अपेक्षा पनि गर्न सकिन्छ ।
नेपालमा भारतविरोधी मानसिकता पहिलेको तुलनामा अहिले निकै बढेको छ । यसले दुवै देशलाई हानि गरिरहेको छ । यसले मैत्री सम्बन्धमा दरार ल्याइरहेछ । दुई देशबीच विरोधी मानसिकता बढ्नु पक्कै पनि राम्रो संकेत पनि होइन ।
समस्याहरूलाई यसै थाती राखीरहनु भन्दा त्यसलाइ कसरी सम्बोधन गर्ने ? कसरी कम गर्ने ? कसरी पुनः सम्बन्धमा सुमधुरता ल्याउने भन्नेबारे दुबै देशका सरकार प्रमुख र नीति निर्माताले गहन रूपमा सोच्नुपर्छ । कसैको पनि कसैप्रति बिनाकारण बिनाआधार सम्बन्धमा दरार आउँदैन, विरोधी मानसिकता बढ्दैन । तर समस्यालाई सधै गिजोलिरहेमा, समाधानतर्फ अघि नबढेमा ती समस्या नै दुई देशको सम्बन्धमा पहाड बनेर तेर्सिनेछन् र काँडा बनेर घोच्नेछन् । यो स्थिति नआओस् भन्ने हो भने दुवै देशले समस्याको संवेदनशीलतालाई बेलैमा बुझ्नुपर्छ । यथेष्ट तथ्य प्रमाण हुँदाहुदै पनि हामीले यो समस्या हल गर्न कोसिस नगरे त्यो सरकारको कमजोरी ठहर्नेछ ।
भारतले मानेन भन्दैमा हामीले हाम्रो भूभाग छोड्ने कुरा आउँदैन । यसर्थ, चीन र भारत दुवैलाई तीन महिनाभित्र यो समस्यामा वार्ताको टेबुलमा नबसे हामी कालापानी लिपुलेक समस्या अन्तर्राष्टियकरण गर्छौं भनेर अल्टिमेटम दिन पनि अब नेपाल पछि पर्नु हुँदैन । अन्यथा यो समस्या सधैं बल्झिरहनेछ ।
–गोपाल देवकोटा, कामपा–७, चाबहिल, काठमाडौं
०००
भारत–चीनबीच हाम्रो भूमि लिपुलेक हुँदै व्यापारिक गतिविधि सञ्चालन गर्ने सहमति भएको र उक्त कुरा हामीलाई थाहापत्तो नदिएको विषयसँग सम्बन्धित अविनको आइतबार प्रकाशित कार्टुनचित्र बेजोडको लाग्यो । हाम्रो भूमि अर्कैले प्रयोग गर्ने विषय हामीलाई वास्तै नगरी गर्नु ठूलो विडम्बना हो । यसबाट दुःखी बनेका सर्वसाधारणले पश्चिम नेपाल र चुच्चे नक्सा नियालिरहेको दुःखदायी सन्दर्भ उनको कार्टुनचित्रले बडो सटीक ढंगले देखाएको छ । एउटै चित्रले हजार शब्दको काम गर्छ भनेको सायद यस्तै होला ।
सीमा विवादका विषयमा १० वर्षमा नेपालले भारतलाई ७ वटा कूटनीतिक नोट पठाउँदा उत्तर नआएपछि फेरि अहिले आठौं पत्र पठाएको छ । त्यस्तै नेपालीभूमि प्रयोगको विषयलाई लिएर चीनलाई पनि तीनवटा कूटनीतिक नोट पठाएकामा एउटाको मात्र जवाफ प्राप्त भएको छ । ‘जसको बिहे उसलाई देख्नै नदिए’ भनेझैं जसको जमिन हो, उसलाई पूर्वजानकारी नै नदिइ, सरसल्लाह नै नगरी बलजफ्ती हाम्रो जमिन कब्जा गर्नु हेपाहा प्रवृत्तिको पराकाष्टा नै हो ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
