सामाजिक सञ्जालले आवाजविहीनलाई आवाज दिएको छ र टाढालाई नजिक ल्याएको छ, तर गलत प्रयोगले राजनीति र समाजमा नकारात्मक असर बढाएको छ।
काठमाडौँ — नेपालमा गणतन्त्रको स्थापनाको दुई दशक नबित्दै राजनीति सेवा होइन, व्यापार बन्न पुगेको स्पष्ट देखिन्छ । जनता रगत, पसिना बगाएर ल्याएको परिवर्तनलाई नेताहरूले आफ्नै स्वार्थ र अहंकारमा गुमाइदिएका छन् । भ्रष्टाचार, धाँधली र अस्थिरता नेपाली राजनीतिको आधारस्तम्भझैँ बनेको छ । यस्तो अवस्थामा जनताले के अपेक्षा गर्ने ?
यता प्रविधिको विस्तारसँगै सामाजिक सञ्जाल सर्वसाधारणको जीवनमा अनिवार्य भइसकेको छ । यसले आवाजविहीनलाई आवाज दिएको छ, टाढा बस्नेहरूलाई नजिक ल्याएको छ र समाजलाई नयाँ धारणा दिन सकेको छ । तर, यसको गलत प्रयोगले नकारात्मक असर पनि बढाएको छ । विशेषगरी राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जाललाई व्यक्तिगत प्रचार, मानहानि र भ्रम फैलाउने माध्यम बनाइरहेका छन् । यसले सर्वसाधारणलाई निराश र उद्विग्न बनाइरहेको छ ।
पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यम अझै पनि पेसागत अनुशासनमा बाँधिएकै छन् । तर, सामाजिक सञ्जाल कुनै बन्धनमा नबाँधिएकाले त्यसको दुरुपयोग हुने सम्भावना उच्च छ । त्यसैले सामाजिक सञ्जाललाई केवल व्यावसायिक धन्दा होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर प्रयोग गर्न आवश्यक छ ।
हामीलाई लोकतन्त्र, विकास र सुशासनका लागि दृढ संकल्पित नेतृत्व र जिम्मेवार सञ्चार दुवै चाहिन्छ । राजनीतिक नेतृत्वले आत्ममोह र स्वार्थ त्याग्न सकेन भने र सामाजिक सञ्जालको उपयोग सही दिशामा हुन सकेन भने देश अझै लामो समय संक्रमणमै अल्झिने निश्चित छ ।
–प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सिकोला
