सधैंभरि पहिचानविहीन नै राख्ने !

नागरिकताको अभावमा सामाजिक सुरक्षालगायत राज्यबाट पाउने सबै सुविधाबाट वञ्चित

भाद्र २, २०८२

पाठक पत्र

Keep forever without identity!

What you should know

सल्यानकी ७२ वर्षीया लोकीकुमारी बुढाबारेको मार्मिक समाचारले मन छोयो । १६ वर्ष पुग्दा नागरिकता पाउनु नैसर्गिक अधिकार भए पनि उहाँले अझैसम्म नागरिकता पाउन सक्नुभएको छैन ।

सानैमा बाबुआमा गुमाउनु, श्रीमान्सँगको सम्बन्ध टुक्रिनु र शारीरिक अशक्तताले गर्दा नागरिकताका लागि स्वयंले पहल गर्न नसक्नु दुःखद पक्ष हो । नागरिकताको अभावमा उहाँ सामाजिक सुरक्षालगायत राज्यबाट पाउने सबै सुविधाबाट वञ्चित हुनुपरेको सुन्दा झनै पीडाबोध भयो । 

लोकीकुमारी बुढाजस्ता धेरै नागरिक छन्, जो आफ्नो पहिचान खुल्दा पनि आवश्यक कागजात वा आफन्त जुटाउन नसक्दा नागरिकताविहीन जीवन बाँच्न बाध्य छन् । उनीहरू राज्यका लागि अदृश्य छन् र नागरिक हुनुको सबै अधिकारबाट वञ्चित छन् । 

यसरी वर्षौंदेखि आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका यी नागरिकलाई नागरिकता दिन राज्य उदासीन देखिएको छ । तर अर्कोतर्फ, पैसा र शक्तिको आडमा कतिपय अनागरिकले सजिलै नेपाली नागरिकता हात पारेका छन् । यो घटनाले राज्यको दोहोरो मापदण्ड प्रस्ट देखाउँछ । वास्तविक नेपाली नागरिक पहिचानविहीन भएर दुःख पाइरहेका छन्, जबकि नक्कली व्यक्ति सजिलै नागरिक बनेर देशको स्रोत र साधनमाथि रजाइँ गरिरहेका छन् । 

लोकीकुमारी बुढाको समस्या एक प्रतिनिधि घटना हो । यस्ता सयौं लोकीकुमारीहरू हाम्रो समाजमा छन्, जसले नागरिकताको अभावमा न्यूनतम मानवीय अधिकारबाट वञ्चित हुनुपरेको छ । सरकारले यस्ता वास्तविक पीडितका लागि विशेष अभियान चलाएर नागरिकता प्रदान गर्नुपर्छ र नागरिकता वितरण प्रक्रियालाई थप पारदर्शी र न्यायोचित बनाउनुपर्छ । यस्तो गम्भीर विषयमा सबैको ध्यान पुगोस् र समस्या समाधानका लागि सरोकारवाला निकायले तत्काल पहल गरून् । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully