नागरिकताको अभावमा सामाजिक सुरक्षालगायत राज्यबाट पाउने सबै सुविधाबाट वञ्चित
What you should know
सल्यानकी ७२ वर्षीया लोकीकुमारी बुढाबारेको मार्मिक समाचारले मन छोयो । १६ वर्ष पुग्दा नागरिकता पाउनु नैसर्गिक अधिकार भए पनि उहाँले अझैसम्म नागरिकता पाउन सक्नुभएको छैन ।
सानैमा बाबुआमा गुमाउनु, श्रीमान्सँगको सम्बन्ध टुक्रिनु र शारीरिक अशक्तताले गर्दा नागरिकताका लागि स्वयंले पहल गर्न नसक्नु दुःखद पक्ष हो । नागरिकताको अभावमा उहाँ सामाजिक सुरक्षालगायत राज्यबाट पाउने सबै सुविधाबाट वञ्चित हुनुपरेको सुन्दा झनै पीडाबोध भयो ।
लोकीकुमारी बुढाजस्ता धेरै नागरिक छन्, जो आफ्नो पहिचान खुल्दा पनि आवश्यक कागजात वा आफन्त जुटाउन नसक्दा नागरिकताविहीन जीवन बाँच्न बाध्य छन् । उनीहरू राज्यका लागि अदृश्य छन् र नागरिक हुनुको सबै अधिकारबाट वञ्चित छन् ।
यसरी वर्षौंदेखि आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका यी नागरिकलाई नागरिकता दिन राज्य उदासीन देखिएको छ । तर अर्कोतर्फ, पैसा र शक्तिको आडमा कतिपय अनागरिकले सजिलै नेपाली नागरिकता हात पारेका छन् । यो घटनाले राज्यको दोहोरो मापदण्ड प्रस्ट देखाउँछ । वास्तविक नेपाली नागरिक पहिचानविहीन भएर दुःख पाइरहेका छन्, जबकि नक्कली व्यक्ति सजिलै नागरिक बनेर देशको स्रोत र साधनमाथि रजाइँ गरिरहेका छन् ।
लोकीकुमारी बुढाको समस्या एक प्रतिनिधि घटना हो । यस्ता सयौं लोकीकुमारीहरू हाम्रो समाजमा छन्, जसले नागरिकताको अभावमा न्यूनतम मानवीय अधिकारबाट वञ्चित हुनुपरेको छ । सरकारले यस्ता वास्तविक पीडितका लागि विशेष अभियान चलाएर नागरिकता प्रदान गर्नुपर्छ र नागरिकता वितरण प्रक्रियालाई थप पारदर्शी र न्यायोचित बनाउनुपर्छ । यस्तो गम्भीर विषयमा सबैको ध्यान पुगोस् र समस्या समाधानका लागि सरोकारवाला निकायले तत्काल पहल गरून् ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला
