स्वास्थ्य क्षेत्रको मेरुदण्डमा राजनीतिको चोट !

अझै पनि दलहरू भागबन्डामै रमाइरहने हो भने स्वास्थ्य क्षेत्रको जनशक्ति पलायनको अवस्था थप कहालीलाग्दो बन्ने निश्चत छ ।

श्रावण ३०, २०८२

पाठक पत्र

The injury of politics in the spine of the health sector!

What you should know

कान्तिपुरमा बिहीबार प्रकाशित मुख्य समाचारले नेपालको स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि झाँगिएको गम्भीर समस्यालाई पुनः सतहमा ल्याएको छ । देशमा हरेक वर्ष हजारौं चिकित्सक उत्पादन भइरहेका छन् । तर तीमध्ये अधिकांश आकर्षक रोजगारी, वृत्ति विकास र अध्ययनको अवसरको खोजीमा विदेश पलायन भइरहेका छन् ।

सन् २०२३ मा २६ सय ९२ नयाँ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामा २३ सय १८ जनाले ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएको तथ्यांकले सोच्न बाध्य बनाउँछ । किनकि प्रमाणपत्र लिएका सबै चिकित्सक विदेश जाने तयारीमा छन् । विगत चार वर्षमा मात्रै ८ हजार ६ सय २४ चिकित्सक दर्ता हुँदा ६ हजार ३ सय ६८ जनाले विदेश जाने अनुमति मागेको काउन्सिलको तथ्यांकले हरेक नागरिकलाई यो देशको भविष्य के होला भन्ने चिन्ताले पिरोल्ने निश्चित छ ।

चिकित्सक पलायनका कारण अनेक छन् । न्यून तलबसुविधा, अत्यधिक कार्यघण्टा, अध्ययन–अनुसन्धानको न्यून अवसर, पेसागत असुरक्षा, वृत्ति विकासको अभाव र कार्यस्थलमा आवश्यक सम्मान र सुरक्षा नहुनु लगायतका कारणले पलायनको ग्राफ बर्सेनि उकालो लागिरहेको छ । त्यसमाथि राजनीतिक हस्तक्षेप र नेतृत्व चयनमा हुने दलगत भागबन्डाले आगोमा घिउ थप्ने काम गरिरहेको यथार्थ दिनको घामजस्तै छर्लंग छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संवेदनशील संस्थामा हालै गरिएको उपकुलपति नियुक्ति त्यसैको ज्वलन्त दृष्टान्त हो । पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तारूढ दलहरूबीचको कोटा मिलाएर नियुक्ति गरिएको खबरले त्यसको पुष्टि हुन्छ । यसले ती स्वास्थ्य संस्थाको गरिमामा धक्का पुग्ने मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको मेरुदण्डमा चोट लाग्ने निश्चित छ ।

स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट पूर्णतः मुक्त गरेर जनताको जीवन र भविष्यको आधार बनाउन सकियो भने मात्र चिकित्सक पलायनको संकट टार्न सकिन्छ । अतः कसैको आदेश होइन जनताको उपचार कक्षको पीडा सुन्ने समय आएको छ । अझै पनि दलहरू भागबन्डामै रमाइरहने हो भने स्वास्थ्य क्षेत्रको जनशक्ति पलायनको अवस्था थप कहालीलाग्दो बन्ने निश्चत छ ।
टेकेन्द्र अधिकारी, विराटनगर

कान्तिपुरमा प्रकाशित चिकित्सक पलायनको डरलाग्दो समाचारले सारा नेपालीको मन पोलेको छ । तर राजनीतिक नेतृत्वलाई भने यस्ता समाचारले केही फरक पारेजस्तो लागेन । आखिर यस्तो कहिलेसम्म ? आफ्नालाई काखा र अरूलाई पाखा लगाउने राजनीतिको अन्त्य नभएसम्म यस्ता समाचार पढिरहन हामी बाध्य हुनेछौं ।

हाम्रा जनप्रतिनिधि पनि अचम्मकै छन् । यति ठूलो विषयमा संसद्मा चर्चा भएको कहिल्यै सुनिएन । सञ्चारजगत्ले कुरा बाहिर ल्याइदिएपछि मात्रै उफ्रीउफ्री र चर्को स्वरमा बोल्ने हाम्रा जनप्रतिनिधि पनि अचम्मकै छन् । अहिले हरेक क्षेत्र राजनीतिक नियुक्तिले ध्वस्त पारेको छ । योग्यता र क्षमता भनेको नेताको नजरमा जो पर्छ, त्यसको मात्र हुने भयो । यस्तो विडम्बना रहेसम्म यस्ता विकृति पनि रहिरहन्छन् ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

नेपालमा हरेक वर्ष ठूलो संख्यामा नयाँ चिकित्सक उत्पादन भइरहेका छन् तर तीमध्ये अधिकांश विदेश पलायन हुन बाध्य छन् । यसको प्रमुख कारण चिकित्सा क्षेत्रमा व्याप्त राजनीतिक भागबन्डा नै हो । स्वास्थ्य संस्थाका महत्त्वपूर्ण पदमा योग्यता र क्षमताभन्दा पनि राजनीतिक पहुँचका आधारमा नियुक्ति गरिँदा समग्र क्षेत्रको गुणस्तर खस्किएको छ । यसले गर्दा योग्य चिकित्सकले आफ्नो क्षमता देखाउने अवसर पाउन सकेका छैनन् । यति मात्र होइन, चिकित्सकले उचित पारिश्रमिक र सम्मान पनि प्राप्त गर्न सकेका छैनन् । कठिन परिश्रम र लामो अध्ययनपछि पनि उनीहरूले आफ्नो पेसामा सम्मान र आर्थिक सुरक्षा नपाउँदा विदेशिने बाटो रोज्न बाध्य भएका हुन् । यो हाम्रो देशका लागि ठूलो क्षति हो ।
चिकित्सक पलायन रोक्न स्वास्थ्य क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नैपर्छ । साथै, चिकित्सकलाई उचित पारिश्रमिक, सम्मान र काम गर्ने वातावरण सुनिश्चित गर्नॅपर्छ । यसो गरेमा मात्र हाम्रो दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न सक्छौं र देशको स्वास्थ्य सेवालाई सुधार गर्न सम्भव छ ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

हरेक क्षेत्रमा राजनीतिक नियुक्तिले गाँजेको हामीकहाँ दक्ष जनशक्ति पलायन डरलाग्दो समस्या बनेको छ । तर यसका बारेमा कुशासनका ठेकेदारलाई कुनै चासो र चिन्ता छैन । योग्य तथा दक्षताको मूल्यांकन छैन यहाँ । राजनीतिक आस्था, नातावाद, कृपावाद र कमिसनतन्त्रले देशको अवस्थालाई आक्रान्त पारेको छ । संवैधानिक नियुक्तिदेखि हरेक प्रशासनिक क्षेत्रमा प्रवेश गर्न या त दलको झोले हुनुपर्छ या त मोटै रकम नजराना बुझाउनुपर्छ । क्षमतावान् जनशक्तिको अवमूल्यन गरेर असक्षम व्यक्तिलाई राजनीतिक आस्थाका आधारमा जागिर दिने प्रचलनले देशको शासन व्यवस्थाको खिल्ली उडाएको छ । अरूको के कुरा ? न्यायिक निरुपण गर्ने अदालतमा समेत राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिने चलन पुरानै छ । पार्टीका कार्यकर्ता भर्ती गरेर र आर्थिक लेनदेन गरेर गरिने नियुक्तिको कार्यसम्पादन या त नेताप्रति वफादार या त धन आर्जन गर्नकै लागि हुने गर्दछ । देशको दक्ष जनशक्ति पलायन गराउन राज्य नै लागि परेको छ । यो कुशासनको जतिसक्दो छिटो अन्त्य गर्नैपर्छ ।
हेमन्त न्यौपाने, कक्षा १२, जनता मावि मंगलचौर, नवलपरासी

पाठक

Link copied successfully