बनकरियालगायत सबै भूमिहीनलाई न्याय देऊ

आयोगको प्रमुख जिम्मेवारी हो– भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिमा सहजीकरण गर्नु 

श्रावण २९, २०८२

पाठक पत्र

Give justice to all the landless, including Bankaria

What you should know

कान्तिपुरमा साउन २८ मा प्रकाशित ‘भूमिहीन बनकरियाको आवाज’ पढ्दै गर्दा जीविकोपार्जनका लागि सानो उद्योग पनि आफ्नै नाममा दर्ता गर्न नपाएको कुराले दुःखी तुल्यायो ।

लोपोन्मुख आदिवासी जनजातिका रूपमा समेत सूचीकृत बनकरियालाई जग्गा आफ्नो हो भन्ने अनुभूति सरकारले दिन सकेको छैन । त्यहाँका महिला उद्यम गरी जीविकोपार्जन गर्न त चाहन्छन् तर आफ्नो नाममा पुर्जा नहुँदा समस्यामा परेका रहेछन् । यस्तो समस्या सबै भूमिहीन समुदायमा छ । 

हाल भूमि समस्या समाधान आयोग देशैभरि सक्रिय छ । आयोगको प्रमुख जिम्मेवारी हो– भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिमा सहजीकरण गर्नु । आयोगले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाइरहेको छ । खासमा भन्ने हो भने संघीयताको अभ्यासमा भूमिहीनको व्यवस्थापनको प्रथम दायित्व स्थानीय सरकारको नै हुनुपर्छ । 

अहिले आयोगले अभियानकै रूपमा अघि बढाएको जग्गा दर्ता अभियानबाट लाखौं भूमिहीन एवं अव्यवस्थित बसोबासी परिवारमा थोरै जमिन भए पनि आफ्ना नाममा आउला भन्ने ठूलो आशा छ । केहीले जग्गाधनी प्रमाणपुर्जा पाउन पनि थालिसकेका छन् । भूमिहीनले वर्षौंदेखि एक टुक्रा जमिन पाउन धेरै संघर्ष गर्नु परिरहेको छ । कानुनी जटिलता देखाउँदै भूमि आयोगमा निवेदन पेस गरेका भूमिहीनले पनि लालपुर्जा पाउन सकेका छैनन् । 

भूमिसम्बन्धी ऐन संशोधनका लागि विधेयक संसदीय समितिमा छलफलमा छ । विभिन्न विवाद सतहमै आएका छन् । पक्ष र विपक्षमा तर्क–वितर्क आइरहेका छन् । तर, देशैभरिका भूमिहीनलाई भने कानुन आफ्नो पक्षमा भन्ने र वर्षौंदेखिको समस्या अब समाधान हुने आशा पलाउँदै गएको छ । यसर्थ संसद्मा पेस भएको विधेयक भूमिहीनका लागि जग्गा दर्ता गर्न मिल्ने गरी सहज रूपमा आओस् भन्ने अपेक्षा हामी सबैको छ । निवेदन पेस गरेका तर लालपुर्जा पाउन नसकेकाहरूको कानुनी अड्चनहरू फुकोस् । बनकरियालगायत सबै भूमिहीनप्रति न्याय होस् । 

कमला गौतम, दमक, झापा

पाठक पत्र

Link copied successfully