माओवादीमा कस्तो प्रवृत्ति मौलाउन लागेको हो ?

पार्टीभित्र लोकतान्त्रिक अभ्यास र स्वतन्त्र विचारको अभिव्यक्तिमाथि अंकुश लगाउने प्रवृत्ति

श्रावण २३, २०८२

पाठक पत्र

What kind of tendency is going to grow in the Maoists?

What you should know

जनयुद्धको पृष्ठभूमिबाट आएको माओवादीले लोकतान्त्रिक मूल्य, स्वतन्त्रता र समानताको वकालत गर्दै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेको इतिहास बोकेको छ ।

तर, हालैका गतिविधिले यो पार्टीभित्र लोकतान्त्रिक अभ्यास र स्वतन्त्र विचारको अभिव्यक्तिमाथि अंकुश लगाउने प्रवृत्ति बढ्दै गएको संकेत देखिएको छ । 

माओवादी केन्द्रको स्थायी समिति बैठकले सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय गर्नु र गुट–उपगुट बनाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने नाममा व्यक्तिगत स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयासले गम्भीर प्रश्नहरू उब्जाएको छ । यो प्रवृत्ति तानाशाही मानसिकताको संकेत हो कि भनेर चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ । 

लोकतन्त्रको आधारस्तम्भ भनेको स्वतन्त्र विचारको अभिव्यक्ति र आलोचनात्मक बहस हो । कुनै पनि राजनीतिक दलले आफूलाई लोकतान्त्रिक दाबी गर्छ भने उसले आन्तरिक असहमति र आलोचनालाई स्वीकार गर्न सक्नुपर्छ । माओवादीको पछिल्लो निर्णयले पार्टीभित्रको आलोचनालाई दबाउने र एकल नेतृत्वको वर्चस्व कायम गर्ने प्रयासलाई संकेत गर्छ । सार्वजनिक मञ्चमा नेतृत्वको आलोचना गर्न निषेध गर्नु भनेको कार्यकर्ता र नेताहरूलाई आफ्ना विचार स्वतन्त्र रूपमा राख्नबाट वञ्चित गर्नु हो । यो कदमले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनुका साथै नेतृत्वलाई जवाफदेही बनाउने प्रक्रियामाथि पनि प्रश्न उठाउँछ । उपमहासचिव शर्माले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्, जुन सकारात्मक सुनिन्छ । तर, एकता भनेको विचारको एकरूपता होइन, बरु विविध विचारलाई समेटेर साझा लक्ष्यतर्फ अघि बढ्ने प्रक्रिया हो । 
गुट वा उपगुट बनाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने नाममा व्यक्तिगत स्वतन्त्रता र फरक मतलाई दबाउन खोज्नुले माओवादीको क्रान्तिकारी पहिचानमाथि नै प्रश्न उठेको छ । इतिहास हेर्दा, माओवादीले जनयुद्धका दौरान समाजमा रहेका तानाशाही संरचनाविरुद्ध लड्ने नारा दिएको थियो । तर, आज आफैँभित्र यस्तो प्रवृत्ति देखिनु विडम्बनापूर्ण हो । 

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । माओवादीले आफूलाई संविधानको परिधिभित्र रहने लोकतान्त्रिक दलको रूपमा प्रस्तुत गर्दै आएको छ । यस्तो अवस्थामा, पार्टीभित्रै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने निर्णयले उसको विश्वसनीयतामाथि प्रश्न उठ्छ । नेतृत्वले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ कि आलोचनालाई दबाउन खोज्दा पार्टी कमजोर मात्र होइन, जनताको नजरमा पनि उसको साख गिर्न सक्छ । 

नेतृत्वले कार्यकर्ताको आवाजलाई सम्मान गर्दै खुला बहस र आलोचनालाई प्रोत्साहन गर्नुपर्छ । यही बाटोले मात्रै माओवादीले आफूलाई साँचो अर्थमा लोकतान्त्रिक र गतिशील शक्तिको रूपमा स्थापित गर्न सक्छ । अन्यथा, तानाशाही प्रवृत्तिको यो बाटोले माओवादीको पहिचान र प्रासंगिकता दुवैलाई संकटमा पार्नेछ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully