राजनीतिक छायामुनि रहेर बनेका कुनै पनि समितिको कुनै अर्थ छैन
What you should know
नेपालको राजनीतिमा कुनै सांसद, मन्त्री या कुनै दलको नेतामाथि कुनै प्रकरण जोडिएर आएमा वा कुनै आरोप लागेमा सबैभन्दा पहिले त्यो प्रकरण प्रतिपक्षी दललाई टाउको दुखाइको विषय बन्ने गर्छ ।
त्यसपछि त्यसले संसद्मा प्रवेश पाउँछ र संसद्मा हंगामा मच्चाउँछ अनि त्यसका लागि छानबिन समिति बन्नुपर्ने मागले निरन्तर संसद् अवरुद्ध हुन्छ ।
सत्तापक्ष दल सकेसम्म समिति गठन गर्नबाट उम्कने प्रयासमा हुन्छ भने प्रतिपक्षी दल आफ्नो मागमा अडिग रहन्छ । हप्तौंदेखि महिनौंसम्म संसद्मा विरोध गरेर राता गाला गरेपछि अन्त्यमा जसोतसो त्यो समिति पनि बन्छ । समितिलाई निश्चित समयावधिमा काम सक्न निर्देशन दिइन्छ । यदि संसदीय समिति बन्यो भने
संसद्मा प्रतिनिधित्व गर्ने केही ठूलामा गनिएका दलका सांसदको प्रतिनिधित्व हुने गरी सदस्य तोकिएको हुन्छ र संसदीयबेगरका अन्य कुनै नामबाट समिति बन्ने भयो भने पनि त्यसमा राजनीतिक दलकै कोटाबाट विभिन्न क्षेत्रमा संलग्न भएका व्यक्तिलाई नै त्यस्ता खालको समितिमा समावेश गराइन्छ । जो व्यक्तिमाथि आरोप लागेको हुन्छ, उसैका नजिकका व्यक्तिलाई समितिमा लगिन्छ ।
त्यसरी बनेको समितिमाथि दलगत दबाब निरन्तर रहिरहन्छ । निष्पक्ष रूपमा काम गर्न दिइँदैन । जब समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेर प्रतिवेदन तयार पार्न थाल्छ अनि राजनीतिक दबाबले अझै बढी तीव्रता पाउँछ र दलगत रूपमा समितिका सदस्यलाई बोलाई बोलाई आफ्नो दल र दलसँग सम्बन्धित व्यक्तिको व्यक्तिगत छविमा आघात पर्ने गरी कुनै लाञ्छना लगाउने गरी प्रतिवेदन नलेख्न दबाब दिइन्छ ।
यति मात्रै होइन, समितिमै भएका सदस्यहरूले आफ्नो दल र आरोपित व्यक्तिको विपरीत अन्य सदस्यले प्रश्न उठाएमा उनीहरूको राजनीति नै सिध्याइदिने र पख्लास् भन्नेसम्मको धम्की दिने गरेको समेत पाइन्छ । यसरी राजनीतिक छायामुनि रहेर बनेका कुनै पनि समितिको कुनै अर्थ छैन । केवल यो आन्दोलनमा उत्रिएका राजनीतिक दलका लागि थुमथुम्याउने माध्यम मात्र हो र यसले कुनै पनि समस्याको दीर्घकालीन समाधान दिँदैन । कतिपय समितिले बुझाइसकेका प्रतिवेदन त सार्वजनिक नै नगरी गुपचुप पारेको इतिहास पनि छ । यसर्थ यस्ता किसिमले गठन गरिएका कुनै पनि समितिको कार्यसम्पादनमा निष्पक्षता छ भनेर भन्ने आधार पनि हुँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
