पीडामाथि पीडा नथपियोस्

४०/४१ वर्षको कलकलाउँदो उमेरको मानिसको जीवन गुमाउनुसँग यी सम्झौता वास्तवमै केही थिएनन्

श्रावण २१, २०८२

पाठक पत्र

Do not add pain upon pain

What you should know

गत असार १४ मा गुल्मीको धुर्कोट गाउँपालिका–७, अज्मिर द्वानेटाको नयाँघरे परिवारसँगै समग्र वाग्ला शोकमग्न बन्यो । सँगैको गाउँमा करिब हप्ता दिनसम्म बत्ती नबलेकाले अनेकन् आग्रहपछि बाध्यतावश विद्युत्को पोलमा चढी मर्मत गरिदिन खोज्दा मेरो दाजु झविन्द्रप्रसाद घिमिरेको जीवनकै अन्तिम क्षण बन्यो ।

अकारण/कारण नहुनु दुर्घटना भइसकेपछि दाजुभाइ, इष्टमित्रको दुई दिनको अथक जनदबाबपूर्ण प्रयासले असार १६ को राति ११ बजेतिर जिल्ला प्रशासन कार्यालय तम्घासमा जिल्ला समन्वय प्रमुख, जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख (सहायक सीडीयो, विद्युत् प्राधिकरण गुल्मी जिल्ला प्रमुख, धुर्कोट गाउँपालिका प्रमुख, धुर्कोट गाउँपालिका–७ का वडाध्यक्ष, जिल्लास्थित उच्च राजनीतिक नेतृत्व र पीडित हामीहरूका बीच अत्यन्त न्यून स्तरमा समझदारी, सम्झौता भयो । 

४०/४१ वर्षको कलकलाउँदो उमेरको मानिसको जीवन गुमाउनुसँग यी सम्झौता वास्तवमै केही थिएनन् । जीवन चलाउनैपर्ने बाध्यतावश दाजुआश्रित तीन नाबालक छोराछोरी र भाउजूको आगामी जीवन जिउन केही मार्ग पहिल्याउनुपर्ने घटनापछिको टड्कारो आवश्यकता थियो, शोकमग्न परिवार र समस्त गाउँवासी प्रतिनिधि यसकै खातिर दुई दिन जिल्ला सदरमुकाम तम्घासमा जुटेका थिए, जुन पीडामाथि पीडा नै थियो । अनेकौं प्रयत्नपछि एक किसिमको सहमति भयो र दाजुको शव जिल्ला अस्पतालबाट बुझी आवश्यक संस्कार सम्पन्न गरियो । 

आज यतिका दिन बितिसक्दा पनि त्यो सम्झौता कार्यान्वयन भएको नदेख्दा समग्र गाउँवासी र परिवारजनको मन फेरि एकपटक भक्कानिएको छ । विद्युत् प्राधिकरण गुल्मीका अनुसार सम्झौता कार्यान्वयनका लागि मुख्य भूमिका प्रदेश कार्यालय र केन्द्र सरकारमार्फत हुने बुझिएकाले सोहीअनुसार अनेकौं प्रयत्न हुँदै छन् भन्ने बुझिन्छ तर नतिजा देखिएको छैन । 

जेसुकै कारण होस्– अब त्यता नखोतलौँ भनी गरिएको अत्यन्तै न्यूनस्तरको सम्झौतालाई पनि कार्यान्वयन गर्न ढिलासुस्ती वा आलटाल र बहानाबाजी गर्दै गरेको आभास गाउँवासी र परिवारजनले गर्दै छन् । यस प्रकारको पीडामाथि खेलाँची गरेर सामान्यतः पीडकले नै स्वतः गल्ती महसुस गरी गर्नैपर्ने न्यूनतम सम्झौतालाई कमजोरी ठानियो भने धैर्यताको बाँध टुट्न सक्छ । 

शिवप्रसाद घिमिरे, धुर्कोट–७, गुल्मी

पाठक पत्र

Link copied successfully