राजविराज घटनाले देखाएको सामाजिक विकृति

पहुँच र राजनीतिक प्रभावको आडमा अपराधीलाई उन्मुक्ति दिने प्रयास

श्रावण १९, २०८२

पाठक पत्र

The social distortions shown by the Raj Viraj incident

What you should know

‘बालिकामाथि सामूहिक बलात्कार, विस्थापित गराइदिने धम्कीले जाहेरी नै परेन’ समाचार पढ्दै मन अत्यन्तै अमिलो भयो । यो घटनाले समाजमा व्याप्त विकृति र असुरक्षाको भयावह तस्बिर प्रस्तुत गरेको छ, जुन कुनै पनि सभ्य समाजका लागि सुहाउने कुरा होइन । यसभन्दा लज्जास्पद विषय अरू के होला र ?

सप्तरीको राजविराजमा एक १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई मिलापत्र गराउन खोज्ने र परिवारलाई विस्थापित गर्ने धम्की दिने कार्यले नेपालमा कानुनको शासन मात्र होइन, सामाजिक नैतिकता र मानवीय संवेदनशीलतासमेत हराउँदै गएको स्पष्ट हुन्छ । पीडित परिवारलाई जाहेरी दिनबाट रोक्न जनप्रतिनिधि र समाजका अगुवा नै लाग्नुले यो घृणित कार्यमा समाजका ठूला भनाउँदा मानिसको समेत सहयोग हुने गरेको प्रमाणित गर्छ ।

राजविराजको यो घटना केवल एउटा अपवाद मात्र होइन । यो त देशभरि नै हुने यस्ता अनेकौं घटनाको प्रतिनिधिमूलक उदाहरण हो । जब–जब चेलीबेटीमाथि दुर्व्यवहार र हिंसा हुन्छ, तब–तब पैसा, पहुँच र राजनीतिक प्रभावको आडमा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिन्छ । प्रहरी प्रशासन पनि कहिलेकाहीं यस्ता दबाबको सिकार हुने गरेको देखिन्छ । यतिखेर महिला सशक्तीकरणको आवाज उठाउने महिला अगुवाहरू राजधानीकेन्द्रित भएकाले राजधानीबाहिरका पीडित चेलीबेटीको आवाज मत्थर छ । यसले गर्दा पीडितले न्याय पाउनुको सट्टा झनै मानसिक र सामाजिक यातना भोग्न बाध्य छन् ।

हाम्रो समाजमा चेलीबेटीलाई सुरक्षित राख्ने दायित्व परिवार, समाज र राज्य सबैको हो । तर, जब समाजका अगुवा, जनप्रतिनिधि र प्रहरी प्रशासन नै अपराधीको पक्षमा उभिन्छन्, तब चेलीबेटीहरू समाजभित्रै असुरक्षित महसुस गर्छन् । यसले गर्दा यस्ता घटनाले निरन्तरता पाउने र अपराधीले दण्डहीनताको फाइदा उठाउने क्रम बढ्दो छ । यस्ता घटनालाई रोक्न सरकारले तत्काल कडा कदम चाल्नुपर्छ । बलात्कारजस्तो जघन्य अपराधमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्नुपर्छ । मिलापत्र गराउने, धम्की दिने र दबाब दिने व्यक्तिलाई पनि सोहीअनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully