सतहमै नेपाल–खनालको जुहारी

दुई शीर्षस्थ नेताबीचको आरोप–प्रत्यारोपले यतिबेला राजनीतिक बजार फेरि एक पटक तताएको छ ।

श्रावण १९, २०८२

पाठक पत्र

Juhari of Nepal-Khanal on the surface

संसद्मा प्रतिनिधित्व गर्ने प्रायः सबै राजनीतिक दलमा एकपछि अर्को गर्दै विवादको अवस्था सिर्जना हुँदै आएको छ । विवादकै कारण साना हुन् या ठूला कतिपय पार्टीमा स्पष्टीकरण सोध्नेदेखि पार्टी निकाला गर्नेसम्मका घटना भएका छन् भने सत्तामा रहने दलले आफ्नो पक्षमा बलियो मत देखाउन अन्य पार्टी विभाजन गराइदिनेसम्मका चलखेल पनि नगरेका होइनन् ।

२०७८ सालमा तत्कालीन एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका दुई शीर्षस्थ नेताबीचको आरोप–प्रत्यारोपले यतिबेला राजनीतिक बजार फेरि एक पटक तताएको छ । तत्कालीन अवस्थामा एमालेबाट अलग हुँदा भारतमा उपचाररत रहेका र एमालेबाट अलग हुन भित्रैदेखि राजीखुसी नरहेका तत्कालीन नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले आएर उक्त कुराका बारेमा एमाले छोड्नु नै गलत भएको भन्ने अभिव्यक्ति दिएपछि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालका बीचमा सतहमै टकराव देखिएको हो । 

२०३२ सालदेखिका राजनीतिक सहयात्री नेपाल र खनालका बीचमा पटक–पटक खटपट र मिलन हुँदै आइरहेको इतिहासलाई हेर्दा यस पटकको यो खलबल पनि सामान्य नै लाग्न सक्छ । तर विगतमा हुने गरेको खलबलभन्दा यस पटकको यो खलबल भिन्न देखिन्छ । 

पार्टी अध्यक्षमाथि पतञ्जलि जग्गा हिनाबिनाको आरोप लागेर अख्तियारले मुद्दा दायर गरिसकेपछि नै खनालको नेपालमाथिको दृष्टिकोण बदलिएको थियो । त्यहीबेलादेखि अध्यक्षले नैतिकताका आधारमा पार्टी छोड्पर्ने धारणा खनालले राख्दै आएका थिए ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक

Link copied successfully