किसानका समस्याप्रति सरकार संवेदनशील बनोस्

खडेरीका कारण तराई तथा देशका विभिन्न भागमा रोपाइँ हुन सकेको छैन 

श्रावण १६, २०८२

पाठक पत्र

Let the government be sensitive to the farmers' problems

What you should know

अहिले जलवायु परिवर्तनको असर विश्वमा पर्दै आइरहेको छ । नेपाल पनि यसबाट अछुतो रहेन । कैयौं दिनदेखि खडेरीका कारण तराई तथा देशका विभिन्न भागमा रोपाइँ हुन सकेको छैन ।

नेपाल जल, जमिन, जंगल, जडीबुटी र जनावर प्रशस्त पाइने देश भनिए तापनि यसको सही सदुपयोग नहुनाले देशको अर्थतन्त्रमा व्यापक रूपमा असर परेको छ । असारमा मानो रोपेर मंसिरमा मुरी उब्जाउने भनिए तापनि खराब तथा बेमौसमका कारण किसानले धान रोप्न पाएका छैनन् र अझै पनि कैयौं टार र खेतबारी बाँझै छन् । 

देशका केही स्थानमा सिँचाइ त भएको छ तर अझै पनि तराई, पहाडको बीचमा रहेका टार तथा उपत्यका, खोँच तथा बेंसीहरूमा पानीको अभावका कारण रोपाइँ हुन सकिरहेको छैन । खडेरीको प्रकोपले गर्दा पहाडदेखि तराईसम्म सिँचाइ अभाव देखिएको छ । विशेषतः प्रशस्त नदीनाला भए पनि अव्यवस्थाका कारण वर्षाको भरमा बाली लगाउनुपर्ने बाध्यता छ । साउन महिना पनि घर्किन लागिसक्यो तर सुक्खा मौसमका कारण विशेषगरी तराईका किसान मारमा परेको अवस्था छ ।

एकातिर प्रशस्त नदीनाला अविरल रूपमा बहिरहेका छन् भने अर्कोतिर नदीको बहावबाट नजिक रहेका टार तथा फाँटहरू बाँझै छन् । यो दुःखद् पक्ष हो । नेपाल कृषिप्रधान देश हो र यसलाई पहिला उत्पादनशील जमिनको खानी भनेर पनि चिनिन्थ्यो तर अहिले बसाइँसराइ, बेरोजगारी, आधुनिक कृषि प्रणाली र तालिमको कमी, सरकारी नीतिमा दीर्घकालीन सोचको अभाव, कृषि क्रान्ति भनिए तापनि खल्तीका योजना आदिका कारणले गर्दा कृषि क्षेत्र पछाडि परेको छ । 

विज्ञका सुझावअनुसार टार तथा फाँटको केही तल रहेका नदी तथा तलाउबाट गुरुत्वबलको प्रयोग गरी पानी ल्याएर ड्रिप प्रणालीमार्फत जमिन भिजाउने सस्तो उपाय हुन सक्छ । यसमा पम्पको आवश्यकता पर्दैन । नेपालका प्रायःजसो स्थानमा यो सम्भव छ । त्यसैगरी सौर्य पम्प सिँचाइ प्रणालीअन्तर्गत विद्युत्को पहुँच नपुगेको ठाउँमा सौर्य ऊर्जा प्रयोग गरेर पानी तान्ने प्रविधि प्रयोग गर्न सकिन्छ । अर्को विकल्पका रूपमा नदी किनाराबाट प्लास्टिकको पाइप बिछ्याएर खेतमा सिँचाइ गर्न सकिन्छ । त्यसैगरी वर्षाको पानी संकलनका लागि पोखरी निर्माण गर्न सकिन्छ र पछि आवश्यक परेको समयमा प्रयोग गर्न सकिन्छ । 

खिमराज गिरी, काठमाडौं

पाठक

Link copied successfully