गिर्दो प्रहरी साख

प्रहरीको ‘नागरिकको साथी’ भन्ने नारालाई खिल्ली

श्रावण १६, २०८२

पाठक पत्र

Bad police credit

पछिल्लो ६ वर्षमा करिब १२ हजार प्रहरीमाथि कारबाही हुनुले नेपाल प्रहरी संगठनभित्रको विकृति कति गहिरो छ भन्ने स्पष्ट देखाउँछ । अवैध असुलीमा प्रहरीको संलग्नता, त्यसमाथि पनि सादा पोसाकका प्रहरीको बढ्दो सक्रियता चिन्ताको विषय हो ।

प्रहरी र तस्करहरूबीचको मिलेमतोका कारण समाजमा अपराध घट्नुको सट्टा झन् बढिरहेको छ । ठूला तस्करले प्रहरीको ‘सेटिङ’ मा भन्सार छली सामान नेपाल भित्र्याउँदा सामान्य नागरिकले घरायसी प्रयोजनका लागि ल्याएको सामानमा पनि भन्सारका प्रहरीद्वारा अनावश्यक सास्ती बेहोर्नुपरेको छ । यसले प्रहरीको ‘नागरिकको साथी’ भन्ने नारालाई खिल्ली उडाएको छ । 

प्रहरीलाई सुधार्नका लागि सर्वप्रथम प्रहरी भर्ना प्रक्रियादेखि नै पारदर्शिता र योग्यतालाई प्राथमिकता दिनुपर्छ । प्रहरीलाई आधुनिक तालिम, प्रविधियुक्त उपकरण र उचित पारिश्रमिक उपलब्ध गराउनु आवश्यक छ । सेवाकालीन नैतिक शिक्षा र नियमित अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । 

भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि राजनीतिक पहुँचका आधारमा नभई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि जनमैत्री व्यवहार र सामुदायिक प्रहरी सेवालाई प्रोत्साहन गर्नुपर्छ । प्रहरी संगठनभित्र सुशासन कायम गरी दण्डहीनताको अन्त्य गर्नुपर्छ । यी कदम चालेमा मात्र प्रहरीको मनोबल उच्च हुनेछ र नागरिकको विश्वास जित्न सकिनेछ । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक पत्र

Link copied successfully