केपी शर्मा ओलीकी विश्वासपात्र अहिले स्वयं पार्टी सदस्यतामाथि प्रश्न उठाइने अवस्थामा पुगेकी छन्
What you should know
नेपालको समसामयिक राजनीतिक परिदृश्यमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः चर्चामा आएकी छन् । नेकपा (एमाले) की एक समयकी शक्तिशाली नेतृ, उपाध्यक्ष, केपी शर्मा ओलीकी विश्वासपात्र र कट्टर पक्षधरका रूपमा चिनिएकी भण्डारी अहिले स्वयं पार्टी सदस्यतामाथि प्रश्न उठाइने अवस्थामा पुगेकी छन् ।
भण्डारीका समर्थकहरू उनलाई पुनः अग्रसर भूमिकामा देख्न चाहन्छन् तर एमालेको शक्ति केन्द्र, विशेषतः ओली नेतृत्वको घेराले उनलाई सहज प्रवेश दिन इच्छुक देखिँदैन । पार्टीभित्रको गतिशीलता हेर्दा भण्डारीका लागि ओलीसँगको सिँगौरी खेल्ने चाहना केवल भावनात्मक लाग्न सक्छ, राजनीतिक यथार्थको दृष्टिमा त्यो एकप्रकारको आत्मघाती जोखिम बन्ने खतरा पनि छ । ओली आफ्नो संगठनात्मक क्षमता, चातुर्यपूर्ण बोली र विरोधीलाई एकएक गर्दै पाखा लगाउने शैलीमा माहिर छन् । उनले झलनाथ खनाल, माधवकुमार नेपाल, रामकुमारी झाँक्री र घनश्याम भुसाल, भीम रावलजस्ता नेतालाई निष्क्रिय बनाउँदै पाखा लगाएका छन् । एमालेलाई पुनर्जीवित गर्दै कार्यकर्तामा जोस भरेर सत्ताको मूल प्रतिस्पर्धी बनाउन सक्नु उनको सबैभन्दा ठूला सफलता पनि हो ।
तर, ओलीको नेतृत्वमा एउटै समस्या निरन्तर दोहोरिएको छ— शक्ति केन्द्रित गर्ने लालसा, आलोचना असह्य गर्ने प्रवृत्ति र आफ्नो वरपर लोभीहरूको घेरा बनाउने अभ्यास । भ्रष्टाचारविरुद्ध कठोर नहुनु, निकटस्थहरूको अनियमिततालाई ढाकछोप गर्नु र सहकर्मीलाई छायामा धकेल्नु ओलीको चरित्रगत कमजोरी बनेको छ । ओली अझै पार्टीभित्र शक्तिशाली छन् । उनका भाषणहरूले कार्यकर्तालाई आकर्षित गर्छन्, संगठन चलाउने क्षमताले एमालेलाई प्रतिस्पर्धामा उभ्याएको छ । तर, उनीभित्रको बेलगाम बोली, प्रतिशोधी सोच र आफ्नै वरिपरि सीमित घेरामा रमाउने प्रवृत्तिले उनका नेतृत्वको दिगोपनमाथि गम्भीर प्रश्न उठाएको छ । भण्डारीको प्रसंगले एउटा सशक्त सन्देश दिन्छ— राजनीतिमा केवल नजिकको सम्बन्धले होइन, विचार, मूल्य र अवसरको यथार्थबोधले दीर्घकालीन सम्मान सुरक्षित हुन्छ । ओलीसँग सिँगौरी खेल्ने भ्रममा रहनु, अबको यथार्थ राजनीतिमा आत्मघाती विकल्प हुन सक्छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
