ओलीसँगको सिँगौरी विद्याका लागि भारी पर्ने त होइन !

केपी शर्मा ओलीकी विश्वासपात्र अहिले स्वयं पार्टी सदस्यतामाथि प्रश्न उठाइने अवस्थामा पुगेकी छन् 

श्रावण १२, २०८२

पाठक पत्र

Singouri with Oli is not too heavy for Vidya!

What you should know

नेपालको समसामयिक राजनीतिक परिदृश्यमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः चर्चामा आएकी छन् । नेकपा (एमाले) की एक समयकी शक्तिशाली नेतृ, उपाध्यक्ष, केपी शर्मा ओलीकी विश्वासपात्र र कट्टर पक्षधरका रूपमा चिनिएकी भण्डारी अहिले स्वयं पार्टी सदस्यतामाथि प्रश्न उठाइने अवस्थामा पुगेकी छन् ।

भण्डारीका समर्थकहरू उनलाई पुनः अग्रसर भूमिकामा देख्न चाहन्छन् तर एमालेको शक्ति केन्द्र, विशेषतः ओली नेतृत्वको घेराले उनलाई सहज प्रवेश दिन इच्छुक देखिँदैन । पार्टीभित्रको गतिशीलता हेर्दा भण्डारीका लागि ओलीसँगको सिँगौरी खेल्ने चाहना केवल भावनात्मक लाग्न सक्छ, राजनीतिक यथार्थको दृष्टिमा त्यो एकप्रकारको आत्मघाती जोखिम बन्ने खतरा पनि छ । ओली आफ्नो संगठनात्मक क्षमता, चातुर्यपूर्ण बोली र विरोधीलाई एकएक गर्दै पाखा लगाउने शैलीमा माहिर छन् । उनले झलनाथ खनाल, माधवकुमार नेपाल, रामकुमारी झाँक्री र घनश्याम भुसाल, भीम रावलजस्ता नेतालाई निष्क्रिय बनाउँदै पाखा लगाएका छन् । एमालेलाई पुनर्जीवित गर्दै कार्यकर्तामा जोस भरेर सत्ताको मूल प्रतिस्पर्धी बनाउन सक्नु उनको सबैभन्दा ठूला सफलता पनि हो । 

तर, ओलीको नेतृत्वमा एउटै समस्या निरन्तर दोहोरिएको छ— शक्ति केन्द्रित गर्ने लालसा, आलोचना असह्य गर्ने प्रवृत्ति र आफ्नो वरपर लोभीहरूको घेरा बनाउने अभ्यास । भ्रष्टाचारविरुद्ध कठोर नहुनु, निकटस्थहरूको अनियमिततालाई ढाकछोप गर्नु र सहकर्मीलाई छायामा धकेल्नु ओलीको चरित्रगत कमजोरी बनेको छ । ओली अझै पार्टीभित्र शक्तिशाली छन् । उनका भाषणहरूले कार्यकर्तालाई आकर्षित गर्छन्, संगठन चलाउने क्षमताले एमालेलाई प्रतिस्पर्धामा उभ्याएको छ । तर, उनीभित्रको बेलगाम बोली, प्रतिशोधी सोच र आफ्नै वरिपरि सीमित घेरामा रमाउने प्रवृत्तिले उनका नेतृत्वको दिगोपनमाथि गम्भीर प्रश्न उठाएको छ । भण्डारीको प्रसंगले एउटा सशक्त सन्देश दिन्छ— राजनीतिमा केवल नजिकको सम्बन्धले होइन, विचार, मूल्य र अवसरको यथार्थबोधले दीर्घकालीन सम्मान सुरक्षित हुन्छ । ओलीसँग सिँगौरी खेल्ने भ्रममा रहनु, अबको यथार्थ राजनीतिमा आत्मघाती विकल्प हुन सक्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully