माओवादीमा भुसको आगो बन्दै पुन

बाहिर कुनै गाइँगुइँ नसुनिए पनि नेकपा माओवादी केन्द्रभित्र भने उनी भुसको आगो बनेर सल्किएको पाइन्छ ।

श्रावण १२, २०८२

पाठक पत्र

Chaff burning in Maoists again

What you should know

सक्रिय राजनीतिमा फर्कन लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा जति चर्चा–परिचर्चा चलिआएको छ, उसैगरी सक्रिय राजनीतिमा फर्किसकेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका बारेमा कतै कुनै गाइँगुइँ सुनिँदैन । बाहिर कुनै गाइँगुइँ नसुनिए पनि नेकपा माओवादी केन्द्रभित्र भने उनी भुसको आगो बनेर सल्किएको पाइन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाहेकका अन्य नेताको इच्छाविपरीत जसरी उनलाई पार्टीमा भित्र्याइयो, त्यसले पार्टीलाई लाभभन्दा हानि हुनेतिर डोर्‍याएको देखिन्छ । दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीका रूपमा पुनलाई भित्र्याएपछि पार्टीका शीर्षस्थ नेताहरूमा असन्तुष्टि बढ्दै गएको छ । पुन राजनीतिमा फर्कनुभन्दा पहिल्यैदेखि माओवादीमा असन्तुष्टि बढ्न थालेकै थियो । कुनै पनि राजनीतिक दलभित्र सिर्जना भएका विवादलाई उक्त दलको महाधिवेशनमा लगेर समाधान गर्ने गरिन्छ तर माओवादी केन्द्रको आठौं महाधिवेशनले पार्टीमा उत्पन्न भएको तत्कालीन विवादलाई सल्ट्याउनुको सट्टा झन् विवादित बनाएर छोडेको थियो । 

महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन गर्न नसकेर पार्टीमा झनै विवाद उत्पन्न भएको अवस्था थियो । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको रस्साकसी चलेकै कारण दाहालले देव गुरुङलाई महासचिव नियुक्त गरे । त्यसपछि पार्टीभित्रको अन्तरसंघर्षले झनै उग्र रूप लियो, भलै त्यो बाहिर कमै देखियो । पछिल्लो समय पूर्वउपराष्ट्रपतिलाई पार्टीमा उपाध्यक्षको जिम्मेवारीसहित भित्र्याएपछि माओवादी फुटकै अवस्थामा पुगेको बुझिन्छ । महाधिवेशनका बेला महासचिव पदकै लागि आन्तरिक प्रतिस्पर्धामा रहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन यतिबेला एउटै कित्तामा उभिन आएका छन् । पार्टी एकताका नाममा अड्काएर राखिएका नेत्रविक्रम चन्दसमेत पुनतिर गएको बुझिन्छ । अर्कातिर दाहालका विश्वासपात्र एवं पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत यतिबेला उनको प्रतिपक्षी कित्तामा पुगेका छन् । 

पार्टीमा दोस्रो वरीयतामा रहेका श्रेष्ठ र अध्यक्ष दाहालबीच पछिल्ला दिनमा झन् टसल देखिन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो श्रेष्ठले दाहाललाई जानकारी नै नदिई पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नु र उक्त भेटका बारेमा दाहालले लिएको चासोमा श्रेष्ठले ‘जानकारी गराउन बिर्सेछु’ भनेर दिएको सामान्य खालको उत्तर । 

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक पत्र

Link copied successfully