What you should know
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनले गर्मराएको राजनीतिले एकाएक कोल्टे फेरेको छ ।
पटक–पटक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका विभिन्न तहका नेताहरूसँग भेट गरिरहेकी र एमालेनिकट विभिन्न संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदै आएकी भण्डारीको एमालेमा पुनरागमन पार्टीले हरियो बत्ती बालिदिएपछिको प्रक्रिया नै होला भन्ने लागेको थियो तर भर्खरै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी राजनीतिमा नफर्किई अभिभावकका रूपमा बस्न आग्रह गर्ने निर्णय गरेसँगै भण्डारीको यतिन्जेलको दौडधुप आफ्नो एकल निर्णयमा मात्रै भएको रहेछ भन्ने कुरा प्रस्टिएको छ ।
पार्टीको केन्द्रीय कमिटीको बैठकअगाडिसम्म भण्डारीको पक्षमा खुलेर लागेकाहरू उक्त बैठकमा उनको पक्षमा चुइँक्कसम्म बोल्न सकेनन् । यसले फेरि एकपटक नेपाली राजनीतिमा उचालेर पछार्नेको खेल दोहोरिएजस्तो पनि देखिएको छ ।
एमाले ओलीको निर्विकल्प हो भन्नेहरू ओलीलाई फेरि पनि नेतृत्वमा पुर्याउन न्वारानदेखिको बल लगाइरहेकै छन् । नीति–नियम, विधिविधान जेजस्तो बनाए पनि कुनै व्यक्तिका लागि त्यो परिवर्तनशील हुन्छ भने त्यसको कुनै मूल्य हुँदैनजस्तो अहिले ओलीकै लागि एमालेमा ७० वर्षीय उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई एमालेले परिमार्जन गरेर त्यो व्यवस्था उल्ट्याइसकेको छ । ओली आफूले नेतृत्व छाड्न चाहेको भए विद्या भण्डारी राजनीतिमा फर्कन नचाहेकै अवस्थामा पनि उनले भण्डारीलाई पार्टी नेतृत्व लिइदिनुपर्यो भनेर हातै समाउन जाने थिए ।
ओली र भण्डारीको लामो राजनीतिक यात्रामा टसल देखिएको सम्भवतः यो पहिलो घटना हो । ओलीले दुई–दुईपटकसम्म संसद् विघटन गर्दा आँखा चिम्लेर स्वीकृति दिने उनै भण्डारीलाई ओलीले अहिले भित्तामा पुर्याइदिएका छन् । जुन कुराको कल्पना सायद भण्डारीले गरेकी थिइनन् । उनी हिजोअस्तिसम्म्म पनि आफूलाई पार्टीले स–सम्मान रूपमा पार्टीमा भित्र्याउनेमा निश्चिन्त थिइन् । बेलाबेला ओलीसँग भइराखेको भेटमा ओलीले उनलाई के भनेका थिए त्यसको छनक भण्डारीले पाउनुपर्ने नै थियो । भेटघाटमा ओलीले भण्डारीलाई ग्रिन सिग्नल नै दिएका थिए, त्यसैका आधारमा भण्डारी अघि बढेकी थिइन् भने अहिले ओलीले उनलाई सिधै धोका दिएको भनेर भन्दा भइगयो र त्यसको खुलासा भण्डारी स्वयंले नै गर्नुपर्ने हुन्छ । त्यसो त एमालेको केन्द्रीय कमिटीले आफ्ना लागि एमाले प्रवेशमा गरेको ढोका बन्दका बारेमा भण्डारीले औपचारिक रूपमा मुख खोलिसकेकी छैनन् । तथापि आफू सक्रिय राजनीतिमा फर्किसकेको र अब पछि नहट्ने कुरा उनले बाराम्बार दोहोर्याउँदै आइरहेकी छिन् । शीतलनिवासबाट बाहिएपछिको उनको राजनीतिमा फर्कन अहिलेसम्मको सम्पूर्ण प्रयास भने ताप्के नताती बिँड तात्नु भनेजस्तो मात्रै भएको देखिन्छ ।
- सुजन देवकोटा, पालुङटार–४, गोरखा
