वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा २०७२ असोज २४ मा उद्घोष गरेको एउटा वाक्य नेपाली समाजले बिर्सिएको छैन । तथापि, हालका प्रधानमन्त्री ओलीले त्यो कुरा बिर्सिएका पनि हुन सक्छन् ।
त्यस बखत भएको उद्घोषको सार थियो– ‘अबको दुई वर्षमा यो देशमा तुइन थियो वा नेपाली जनताले तुइनबाट आवजजावत गर्थे भन्ने कुरा एउटा इतिहास बन्नेछ । म र मेरो सरकारले दुई वर्षभित्र तुइन भएका ठाउँमा झोलुंगे पुल बनाउनेछ । तुइनलाई पूर्ण रूपमा विस्थापन गरिनेछ ।’
तर विडम्बना ! तिनै व्यक्ति पटक–पटक देशको प्रधानमन्त्री बने । अहिले पनि उनै प्रधानमन्त्री छन् । तर एक देशकको यो समय व्यतीत हुँदै गर्दा तुइनबाट नदी तरेर
आफ्नो जीवनयापन गर्नुपर्ने बाध्यतामा ग्रामीण भेगका जनता राजधानी नजिकैदेखि सुदूरपश्चिमका कुनासम्म यथावत् नै छन् ।
आज पनि दूरदराजका आमनागरिकको दैनिकी बर्खामा तुइन र हिउँदमा ट्युबमा तरेर आवतजावत गर्नुपर्ने जोखिममै छ । यो देशमा बर्खामा कैयौं स्कुले बालबालिकाले तुइनसँग संघर्ष गर्दा जीवन गुमाउन पुगे । सरकारसँग तिनको तथ्यांक पनि होला । तर राजनैतिक स्टन्टका लागि जे पनि बोल्ने बानी नेतामा हिजो पनि थियो र आज पनि छ । जसका कारण आमनागरिक आजित छन् । फेरि पनि आस र भरोसा यिनै नेताको नगरी आमनागरिकको गुजारा चल्दैन ।
– रामकृष्ण बराल, जोरपाटी–५, काठमाडौं
