What you should know
यतिबेला देशको राजनीतिक अवस्था एक पटक एमालेमय भएको छ । विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणासँगै सम्पूर्ण पार्टीको ध्यान एमालेमा केन्द्रित भएको छ ।
विद्या भण्डारी राष्ट्रपति भएकै कार्यकालमा उपराष्ट्रपति रहेका नन्दबहादुर पुन माओवादीको सक्रिय राजनीतिमा फर्किसकेका छन् । राजनीतिमा पुनको पुनरागमनले खासै चर्चा नपाए पनि राष्ट्रपति भइसकेको व्यक्तिको राजनीतिक पुनरागमनको प्रसंगले यतिबेला निकै चर्चा पाएको छ । देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु र केपी शर्मा ओलीको निर्विकल्प रहेको भनिएको एमालेमा उनै ओलीको प्रतिस्पर्धी भएर पार्टीमा भण्डारीको पुनरागमन हुँदा पनि यति चर्चा भएको हुन सक्छ ।
यद्यपि, यतिबेला पूर्वराष्ट्रपति, उपराष्ट्रपतिको राजनीतिमा पुनरागमनको विषयले भन्दा पनि एमालेमा अबको शक्ति सन्तुलनका बारेमा धेरैलाई चासो छ । पार्टीभित्र आफ्ना प्रतिस्पर्धी, विरोधी र फरक मत राख्नेलाई कि त कारबाहीको डन्डा चलाउने कि पार्टीबाटै निकाल्ने ओली प्रवृत्तिले वाक्कदिक्क भएका एमालेजन भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उनी शीतल निवासबाट बाहिरिएको दिनदेखि नै लागिपरेका थिए । अन्ततः उनीहरू भण्डारीलाई राजनीतिमा पुनरागमन गराएर पहिलो चरण पार गर्न सफल भएका छन् ।
राजनीतिको सुरुवात नै ओलीको स्कुलिङबाट गरेकाहरू पनि यतिबेला उनको विपक्षी कित्तामा उभिन पुगेका छन् । बिरालोलाई बन्द कोठामा राखेर लखेट्न खोज्दा उसले जसरी मानिसको घाँटीमा आक्रमण गर्छ, यतिबेला एमालेका ओली पीडितले पनि त्यही शैली अपनाएका छन् ।
माधव नेपाल र झलनाथ खनाल समूह एमालेबाट बाहिरिएपछि ओलीलाई पार्टीमा चुनौती दिने नेताको खडेरी परिरहेका बेला त्यस्ता पात्रको खोजी गरिरहेका ओली पीडितहरूले भण्डारीलाई राजनीतिमा ल्याएर उनलाई साइजमा राख्न खोजेका हुन् या साँच्चै एमालेलाई ओलीको विकल्प दिन चाहेका हुन्– त्यो आगामी महाधिवेशनले देखाउने नै छ । – सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विवाद र सो सम्बन्धमा भइरहेका छलफल वास्तवमै महत्त्वपूर्ण छन् । पार्टीभित्र लोकतान्त्रिक अभ्यास र नेतृत्व परिवर्तनको विषयमा वर्षौंसम्म गुम्सिएका सवाल यतिखेर सतहमा आएका हुन् ।
पार्टीभित्र लोकतन्त्रको पुनःस्थापना र नेतृत्व परिवर्तनको आवश्यकता महसुस भइरहेको आवाज उठिरहेको सन्दर्भमा भण्डारीको पार्टी राजनीतिमा सक्रियता र उनको सदस्यता नवीकरणको विषयलाई केवल व्यक्ति विशेषको मुद्दाका रूपमा हेरिनु हुँदैन । यो एमालेभित्रको आन्तरिक लोकतन्त्र, विधि र व्यक्तिको स्वतन्त्रतासँग जोडिएको महत्त्वपूर्ण प्रश्न पनि हो ।
एमालेले पार्टीभित्रको लोकतन्त्रलाई पुनःस्थापित गर्नुपर्छ, नेतृत्व परिवर्तनको आवाजलाई सुन्नुपर्छ र सबै सदस्यलाई समान व्यवहार गरिनुपर्छ । पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीले अविलम्ब विधि र विधानसम्मत निर्णय गरोस् र पार्टीलाई अझ समावेशी तथा लोकतान्त्रिक बनाउने दिशामा अघि बढोस् ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला
