What you should know
कान्तिपुरको शनिबारको कोसेलीमा ‘मृत्यु चिन्तन’ सम्बन्धी लेख छापिएको थाहा पाएर पढ्नका लागि जति उत्साह लागेको थियो, केही लेख पढेपछि खल्लो लाग्यो । मृत्युको विषय जति गम्भीर थियो, त्यति गम्भीर लागेनन् लेखहरू ।
मृत्युसम्बन्धी चिन्तन भनेपछि लेखहरूमा जस्तो कुराको आशा राखेको थिएँ, त्यस्तो पाइनँ । जीवनसँग नजोडिएको मृत्यु चिन्तन अधुरो चिन्तन हो । के मृत्यु चिन्तन जीवनविरोधी चिन्तन हो र ?, मृत्यु के हो ?, मृत्युसम्बन्धी धारणा, मृत्युबोधका दार्शनिक व्याख्या, मृत्युप्रतिको संवेदनशीलता, मृत्युपछिको अस्तित्व या अनस्तित्व, मृत्युको भय आदि इत्यादिको आशा थियो ।
‘मृत्यु’ जस्तो गम्भीर विषय जीवन र जीवनका अनेकौं पक्षसँग जोडिएको हुन्छ । वास्तवमा के मृत्यु सत्य हो त ?, के मृत्युको अस्तित्व छ ?, जहाँ जीवन हुन्छ, त्यहाँ मृत्यु कसरी होला ?, जहाँ प्रकाश हुन्छ त्यहाँ अन्धकारको अस्तित्व हुन्छ र ?, के मृत्यु साँच्चै नै समाप्तिकै अर्को नाम हो त ?, मृत्युपछि सबै कुरा सकिन्छ कि अथवा मृत्युपछि अर्को अस्तित्व सुरु हुने हो ?
आखिरमा हाम्रो जीवन नै के हो ?, म को हुँ ?, अहंकार के हो ? आदि प्रश्नसँग मृत्युको प्रश्न जोडिएको हुन्छ । मृत्युपछि हाम्रो भविष्यको समाप्ति हुन्छ अथवा वास्तविक भविष्य त तब पो सुरु हुन्छ ? यो गहन प्रश्न हो ।
मान्छेहरू भविष्यका लागि भन्दै अनेकौं संग्रह गर्छन् । बुढेसकालमा सजिलो होस् भन्दै धन जम्मा गर्छन् । सुन्दर भविष्यका लागि आज मिहिनेत गर्छन् तर वास्तविक भविष्य मृत्युपछि सुरु हुन्छ र हामीले संग्रह गरेका कुनै पनि वस्तु मृत्युपछिको लोकमा लैजान सकिँदैन ।
– अमोघसिद्धि, भानु–११, तनहुँ
