What you should know
मुलुकको सर्वांगीण विकासका लागि उपयुक्त नीति, रणनीति, कार्यनीति तयार गरी कार्यान्वयनमा ल्याउनु राजनीतिक दलहरूको जिम्मेवारी हो ।
प्रथमतः हावापानीको विविधताका कारण हिमाल, पहाड र तराईमा आवश्यकता पहिचानको आधारबाट उपयुक्त कार्यक्रम, आयोजना सञ्चालन गर्नु आवश्यक भए पनि राजनीतिक परिवर्तन भएको साढे तीन दशक नाघ्दा पनि त्यस्तो हुन सकेको छैन ।
संघीय प्रणाली सुरु भएको एक दशक त्यत्तिकै खेर गएको यथार्थ सबैसामु छर्लंग छ । प्रादेशिक समृद्धिको सन्दर्भमा कोशी प्रदेशमा देखिएको सामाजिक र आर्थिक रूपान्तरणले सबैलाई उछिन्दै आएको अनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी इलाका दशकौं पछाडि धकेलिएका छन् ।
पूर्वमा हुने कतिपय विशिष्ट उत्पादनले सबैलाई आकर्षित तुल्याइरहेको देख्न सकिन्छ । कोशी प्रदेशमा उत्पादन हुने दूध, चिया, चिज, छुर्पी, स्कुस, बम्बैसन, अदुवा, अम्रिसो, अलैंची, अकबरे खुर्सानी, किबी फ्रुट, मह, बंगुरलगायत देश/विदेशमा प्रख्यात छन् भने बोधिचित्त, रुद्राक्षको व्यापारले धेरैको जीवनस्तर माथि उठेको छ ।
पूर्वमा सामाजिक विभेद न्यून भएका कारणले भाइचारा, मेलमिलापको वातावरण गाउँसहर सबैतिर देखिन्छ, सर्वसाधारणको जोस, जाँगर, निष्कपटता, खुलस्त भाव अद्वितीय बनेका छन् । बारको नामबाट लाग्ने आइतबारे, सोमबारेजस्ता हाटबजार प्रत्येक जिल्लामा लाग्ने हुँदा उत्पादित वस्तुको बजारीकरणमा खासै समस्या देखिँदैन ।
उता पश्चिमी पहाडमा देखिएको दुर्दशा भने शब्दमा वर्णन गर्न सकिँदैन । जुवातास खेल्नु, अत्यधिक मदिरा सेवनबाट मात्तिएर वितण्डा मच्चाउनु, श्रीमती, केटाकेटीलाई निर्मम तरिकाले कुटपिट गर्न पछि नपर्नु महिलामाथिको अत्याचार कहिल्यै नरोकिनु त्यहाँको नियति बनेका छन् ।
जातीय विभेद दीर्घरोग बनिरहँदा छाउपडी कुप्रथाका कारण किशोरी, महिला अकाल मृत्युको सिकार बनिरहेका छन् । यावत् विसंगति, कुरीति, अभाव, छटपटीमा बाँच्न बाध्य कर्णाली र सुदूरपश्चिमका जनताको भलाइका निम्ति त्यहाँको जिम्मेवार नेतृत्वले माखो मार्न सकेको छैन, राजनीतिक दाउपेच, अरूको आलोचनालाई ठूलो उपलब्धि ठानेर केन्द्रमै रमाइरहेको छ ।
एउटा सन्दर्भ जोडौं: नेपालभन्दा झन्डै ६७ गुणा ठूलो र ५० वटा राज्य भएको अमेरिका औंलामा गन्न सकिने नेतृत्वका कारण सबै राज्यमा समानुपातिक विकास फैलाउन सफल भएको छ भने हाम्रो नेतृत्व गफ र खुराफाती कामबाट माथि उठ्न सकेको छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
