पूर्वको प्रकाश र पश्चिमको अन्धकार

श्रावण ४, २०८२

पाठक पत्र

The light of the east and the darkness of the west

What you should know

मुलुकको सर्वांगीण विकासका लागि उपयुक्त नीति, रणनीति, कार्यनीति तयार गरी कार्यान्वयनमा ल्याउनु राजनीतिक दलहरूको जिम्मेवारी हो ।

प्रथमतः हावापानीको विविधताका कारण हिमाल, पहाड र तराईमा आवश्यकता पहिचानको आधारबाट उपयुक्त कार्यक्रम, आयोजना सञ्चालन गर्नु आवश्यक भए पनि राजनीतिक परिवर्तन भएको साढे तीन दशक नाघ्दा पनि त्यस्तो हुन सकेको छैन । 

संघीय प्रणाली सुरु भएको एक दशक त्यत्तिकै खेर गएको यथार्थ सबैसामु छर्लंग छ । प्रादेशिक समृद्धिको सन्दर्भमा कोशी प्रदेशमा देखिएको सामाजिक र आर्थिक रूपान्तरणले सबैलाई उछिन्दै आएको अनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी इलाका दशकौं पछाडि धकेलिएका छन् । 

पूर्वमा हुने कतिपय विशिष्ट उत्पादनले सबैलाई आकर्षित तुल्याइरहेको देख्न सकिन्छ । कोशी प्रदेशमा उत्पादन हुने दूध, चिया, चिज, छुर्पी, स्कुस, बम्बैसन, अदुवा, अम्रिसो, अलैंची, अकबरे खुर्सानी, किबी फ्रुट, मह, बंगुरलगायत देश/विदेशमा प्रख्यात छन् भने बोधिचित्त, रुद्राक्षको व्यापारले धेरैको जीवनस्तर माथि उठेको छ । 
पूर्वमा सामाजिक विभेद न्यून भएका कारणले भाइचारा, मेलमिलापको वातावरण गाउँसहर सबैतिर देखिन्छ, सर्वसाधारणको जोस, जाँगर, निष्कपटता, खुलस्त भाव अद्वितीय बनेका छन् । बारको नामबाट लाग्ने आइतबारे, सोमबारेजस्ता हाटबजार प्रत्येक जिल्लामा लाग्ने हुँदा उत्पादित वस्तुको बजारीकरणमा खासै समस्या देखिँदैन । 

उता पश्चिमी पहाडमा देखिएको दुर्दशा भने शब्दमा वर्णन गर्न सकिँदैन । जुवातास खेल्नु, अत्यधिक मदिरा सेवनबाट मात्तिएर वितण्डा मच्चाउनु, श्रीमती, केटाकेटीलाई निर्मम तरिकाले कुटपिट गर्न पछि नपर्नु महिलामाथिको अत्याचार कहिल्यै नरोकिनु त्यहाँको नियति बनेका छन् । 

जातीय विभेद दीर्घरोग बनिरहँदा छाउपडी कुप्रथाका कारण किशोरी, महिला अकाल मृत्युको सिकार बनिरहेका छन् । यावत् विसंगति, कुरीति, अभाव, छटपटीमा बाँच्न बाध्य कर्णाली र सुदूरपश्चिमका जनताको भलाइका निम्ति त्यहाँको जिम्मेवार नेतृत्वले माखो मार्न सकेको छैन, राजनीतिक दाउपेच, अरूको आलोचनालाई ठूलो उपलब्धि ठानेर केन्द्रमै रमाइरहेको छ । 

एउटा सन्दर्भ जोडौं: नेपालभन्दा झन्डै ६७ गुणा ठूलो र ५० वटा राज्य भएको अमेरिका औंलामा गन्न सकिने नेतृत्वका कारण सबै राज्यमा समानुपातिक विकास फैलाउन सफल भएको छ भने हाम्रो नेतृत्व गफ र खुराफाती कामबाट माथि उठ्न सकेको छैन । 

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

पाठक पत्र

Link copied successfully