अब कर्णालीको मुहार फेरिने आशा

श्रावण १, २०८२

पाठक पत्र

Now the face of Karnali is expected to change

‘चार वर्षपछि भारतीय तीर्थयात्रीलाई खुल्यो मानसरोवर, होटल भरिभराउ’ शीर्षक कान्तिपुरको समाचार सन्देशमूलक लाग्यो । वास्तवमा पहिलेदेखि नै उपेक्षामा पर्दै आएको कर्णालीमा पछिल्लो समय भारतीय तीर्थयात्रीको संख्या बढेको र यसले बहुआयामिक फाइदा पुर्‍याइरहेको खबर निश्चय नै सुखद हो ।

यसअघि हुम्ला हुँदै कैलाश मानसरोवर तीर्थयात्रामा जाने स्वदेशी र विदेशी पर्यटकको सानो संख्याबाट अर्थतन्त्रमा खासै फाइदा पुगेको थिएन । धार्मिक आस्था बोकेका भारतीय हिन्दु र बौद्ध धर्मावलम्बीलाई विभिन्न सामाजिक सञ्जालले कैलाश मानसरोवरको श्रव्यदृश्य प्रस्तुत गरेर आकर्षण थपेका बेला कोरोना महामारी उत्कर्षमा पुग्दा २०७७ चैतदेखि बन्द भएको धार्मिक यात्रा फेरि खुलेका कारणले पनि तीर्थयात्रीको संख्या बढेको हो । 

यति बेला हुम्लाको सदरमुकाम सिमकोटमा दुई दर्जन र चिनियाँ सीमास्थित हिल्साका ३५ होटल भरिभराउ छन् भने हवाईजहाजबाट हुम्ला जाने तीर्थयात्रीको चाप नेपालगन्जका होटलहरूमा समेत देखिन थालेको छ । यहाँबाट तारा, सीता र समिट एयरलाइन्सले सिमकोटसम्म दिनमा ८२ उडानसम्म भर्ने गरेको, दिनहुँ ५ हेलिकोप्टरबाट ७५ पटकसम्म सिमकोट–हिल्सा उडान गरिरहेका छन् । 

हुम्ला पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले गाउँ–गाउँ र बाटोमा पर्ने रमणीय स्थानलाई पर्यटनमय बनाउनुपर्छ । साथै मौकाको फाइदा उठाएर विज्ञापन, प्रचारप्रसारबाट रारा, फोक्सुन्डो ताललगायत पर्यटकीय स्थलहरूमा पर्यटकको आकर्षण बढाउने अभियान थाल्नुपर्छ । 

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

पाठक पत्र

Link copied successfully