मौद्रिक नीति र व्यापारीको हित

असार ३१, २०८२

पाठक पत्र

Monetary Policy and Interests of Traders

न्यून बजार मागका कारण आर्थिक गतिविधि चलायमान बन्न नसकिरहेका बेला अर्थतन्त्रलाई गति दिन भन्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले निकै उदार भएर आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे । यसले बजारमा पुँजी चलायमान हुने विश्वास लिइएको थियो । तर, परिणाम उल्टो देखिँदै छ ।

गभर्नर पौडेलले घरजग्गा, सेयर बजार, कृषि, उद्योगलगायत क्षेत्रमा थप कर्जा विस्तारमा जोड दिएका छन् । उनले भनेजस्तै बैंकहरूले सजिलो तरिकाले उद्यमीलाई ऋण दिए भने सकारात्मक परिणाम आउला । अहिले त बैंकहरूमा पैसा जम्मा गर्न जाँदा होस् या निकाल्दा– ज्यादै दुःख दिइन्छ । आफूले आयआर्जन गरेको पैसा राख्न सजिलोसँग नपाउने अनि आफूले जम्मा गरेको पैसा भनेको बेला सजिलै निकाल्न नपाउने हो भने बैंकको उपादेयता के ?

पछिल्लो समयमा देखिएको समस्या भनेको बैंकमा धितो राखेर कर्जा लिन जाँदा असाध्यै धेरै झमेला बेहोर्नुपर्छ । 

आफ्नो सम्पत्ति बैंकका नाममा राखेर नियमानुसार कर्जा लिन सजिलोसँग पाइँदैन भने बैंकमा किन धाउने भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले बैंकहरूमा मौज्दात थुप्रिनुको एउटा कारण यो पनि हो । यसप्रति पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । 

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully