प्रकृतिको करुण चिच्याहट

असार २७, २०८२

पाठक पत्र

Nature's cry of compassion

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवागढी–केरुङवरपर केही दिनयता ठूलो पानी परेको नभए पनि मंगलबार बिहान तिब्बतबाट बगेर आएको ल्हेन्दे खोलाको भीषण बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको छ ।

वस्तुतः मुलुकभर बाढीपहिरोको प्रकोप बढिरहँदासमेत दूरगामी प्रभाव न्यून गर्न सरकारबाट ठोस कार्यक्रम बनेको छैन । प्रकोप उत्कर्षमा पुगेपछि जिम्मेवार सरकारी पदाधिकारी मातहतका व्यक्तिलाई निर्देशन दिनुमै आफ्नो उपलब्धि ठान्ने गर्छन् । सुनकोशीको गिट्टी–बालुवा अनियन्त्रित ढंगबाट निकालेर विध्वंश मच्चाइएको, बाढीले क्षत्विक्षत् पारेको रोशी खोला छेउछाउमा क्रसर आतंकले यहाँको अनुपम सौन्दर्यलाई कुरूप बनाएको सबैलाई विदितै छ । नदीनाला बचाउने, बाढीपहिरोको प्रकोप घटाउने र प्राकृतिक सौन्दर्य कायम राख्नेजस्ता कुरामा संवेदनशील नहुँदा नै यो परिणाम भोग्न हामी विवश भएका हौं । 

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं


जलवायु परिवर्तनले हिमताल विस्फोट र आकस्मिक बाढीको जोखिम बढाइरहेको वर्तमानमा नेपालले सेन्डाई फ्रेमवर्क (२०१५–२०३०) कार्यान्वयनमा स्पष्ट नीति र लगानी देखाउनैपर्छ । नेपाल–चीन सीमापार जल व्यवस्थापनमा प्राविधिक, वैज्ञानिक र कूटनीतिक सहकार्य आवश्यक भइसकेको छ । कर्णाली, मधेश र अन्य उच्च जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन जोखिम न्यूनीकरण कार्यक्रम तत्काल थालिनुपर्छ । 

रसुवागढीको बाढी केवल एउटा घटना हैन, यो सरकारलाई पुनः चेतावनी दिने प्रकृतिको करुण चिच्याहट हो । २०७२ को भूकम्प, २०७४ को तराई बाढी र अन्य यस्ता त्रासदीबाट समेत पाठ नसिक्ने हो भने बर्खायामका आगामी बाढी र पहिरो अझ प्रलयकारी बन्नेछन् । अब सरकार मौन बस्ने कि जाग्ने भन्ने निर्णयको समय हो । केवल पीडितहरूका आँसु पुछ्ने हैन, आगामी पुस्तालाई सुरक्षित भविष्य दिने दायित्व पनि सरकारले तत्काल लिनैपर्छ । 

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully