‘आफू मात्रै ठीक’ भन्ने सोचबाट बाहिर निस्कौं

असार २७, २०८२

पाठक पत्र

Let's get out of the thinking that 'only you are fine'

नेपाली समाजमा विद्यमान चुनौतीमाथि प्रश्न गर्दै लेखक चन्द्रकिशोरले हाम्रो ‘सोच’ को जीर्ण संरचना र सामाजिक तथा राजनीतिक विकृतितर्फ गराएको ध्यानाकर्षण गजबै लाग्यो ।

वास्तवमा हाम्रो समाजमा व्याप्त ‘झोले मानसिकता’ र नैतिकताको गिर्दो स्तरलाई यस लेखले स्पष्ट औंल्याएको छ । आफूबाहेक अरूलाई राम्रो मान्न नसक्ने, चाप्लुसी गरेर पद हत्याउने र आफ्नो मात्र फाइदा हेर्ने प्रवृत्तिले इमानदार र मिहिनेती व्यक्तिलाई पछि पारेको तथ्य चिन्ताजनक छ ।

सार्वजनिक स्थानमा देखिने अराजकता, जस्तै ः सडक नै छेकेर धार्मिक अनुष्ठान गर्ने, धर्मका नाममा हातहतियार प्रदर्शन गर्ने र सार्वजनिक ठाउँमा जथाभावी जुलुस निकाल्ने प्रवृत्तिले कानुनको उपहास गरेको छ । यसले नागरिकको दैनिकीमा बाधा पुर्‍याउनुका साथै समाजमा द्वन्द्व र तनाव पनि बढाइरहेको छ ।

राजनीतिक दलहरूको आन्तरिक किचलो र जनताको सहभागितामा कमीजस्ता पक्षले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाएको लेखकको तर्क दमदार छ । प्राकृतिक प्रकोप वा दुर्घटनाजस्ता घटनामा मानवीय संवेदनशीलता आवश्यक पर्ने समयमा पनि हामीमा देखिएको उदासीनता र व्यक्तिगत स्वार्थ हाबी हुनुले हाम्रो सामाजिक चेतनाको स्तर खस्कँदै गएको देखाउँछ । जसलाई लेखकले मिहिन ढंगले औंल्याएका छन् । जबसम्म हामी ‘आफू मात्रै ठीक, अरू बेठीक’ भन्ने सोचबाट बाहिर आउँदैनौँ, तबसम्म वास्तविक सुधार सम्भव छैन । यस लेखले हामी सबैलाई आत्मसमीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि व्यक्तिगत तथा सामूहिक प्रयास गर्न आह्वान गरेको छ । अन्यथा, हामी सधैं ‘कहाँ चुक्दै छौं ?’ भन्ने प्रश्नकै घेरामा रहिरहने निश्चित छ ।

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully