नेपाली समाजमा विद्यमान चुनौतीमाथि प्रश्न गर्दै लेखक चन्द्रकिशोरले हाम्रो ‘सोच’ को जीर्ण संरचना र सामाजिक तथा राजनीतिक विकृतितर्फ गराएको ध्यानाकर्षण गजबै लाग्यो ।
वास्तवमा हाम्रो समाजमा व्याप्त ‘झोले मानसिकता’ र नैतिकताको गिर्दो स्तरलाई यस लेखले स्पष्ट औंल्याएको छ । आफूबाहेक अरूलाई राम्रो मान्न नसक्ने, चाप्लुसी गरेर पद हत्याउने र आफ्नो मात्र फाइदा हेर्ने प्रवृत्तिले इमानदार र मिहिनेती व्यक्तिलाई पछि पारेको तथ्य चिन्ताजनक छ ।
सार्वजनिक स्थानमा देखिने अराजकता, जस्तै ः सडक नै छेकेर धार्मिक अनुष्ठान गर्ने, धर्मका नाममा हातहतियार प्रदर्शन गर्ने र सार्वजनिक ठाउँमा जथाभावी जुलुस निकाल्ने प्रवृत्तिले कानुनको उपहास गरेको छ । यसले नागरिकको दैनिकीमा बाधा पुर्याउनुका साथै समाजमा द्वन्द्व र तनाव पनि बढाइरहेको छ ।
राजनीतिक दलहरूको आन्तरिक किचलो र जनताको सहभागितामा कमीजस्ता पक्षले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाएको लेखकको तर्क दमदार छ । प्राकृतिक प्रकोप वा दुर्घटनाजस्ता घटनामा मानवीय संवेदनशीलता आवश्यक पर्ने समयमा पनि हामीमा देखिएको उदासीनता र व्यक्तिगत स्वार्थ हाबी हुनुले हाम्रो सामाजिक चेतनाको स्तर खस्कँदै गएको देखाउँछ । जसलाई लेखकले मिहिन ढंगले औंल्याएका छन् । जबसम्म हामी ‘आफू मात्रै ठीक, अरू बेठीक’ भन्ने सोचबाट बाहिर आउँदैनौँ, तबसम्म वास्तविक सुधार सम्भव छैन । यस लेखले हामी सबैलाई आत्मसमीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि व्यक्तिगत तथा सामूहिक प्रयास गर्न आह्वान गरेको छ । अन्यथा, हामी सधैं ‘कहाँ चुक्दै छौं ?’ भन्ने प्रश्नकै घेरामा रहिरहने निश्चित छ ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला
