गुरुहरूप्रति कृतज्ञ बनौं

असार २६, २०८२

पाठक पत्र

Let us be grateful to the Gurus

कुनै पनि कुरा सिक्न गुरु चाहिन्छ । गुरुको निर्देशन, आशीर्वाद नभईकन कसैले केही पनि सिक्न सक्दैन । द्रोणाचार्यले गुरु बन्न अस्वीकार गरेपछि एकलव्यले उनको मूर्ति बनाएर भए पनि गुरु मानेपछि मात्र उनले धनुर्विद्यामा दक्षता हासिल गरेका थिए । यसको अर्थ ज्ञान र गुरु प्राप्ति भनेको प्रथमतः सिक्ने तीव्र इच्छा हो । त्यस्तो इच्छा नभईकन गुरुको आवश्यकता महसुस नै हुँदैन ।

अर्जुन सधैं कृष्ण भगवान्सँगै हिँड्थे । तर पनि उनले खास सिकेनन् । तर जब उनलाई एउटा विशेष समयमा जिज्ञासा उत्पन्न भयो, अथवा सिक्ने तीव्र इच्छा भयो तब कृष्ण भगवान्ले उनको जिज्ञासा मेटाइदिए । कृष्ण भगवान्जस्ता असल गुरु र अर्जुनजस्ता जिज्ञासु शिष्यबाट नै कालजयी ग्रन्थ श्रीमद् भागवतगीताको जन्म भयो । गुरु कसलाई बनाउने भन्ने कुरा विद्यार्थीको रुचि र जिज्ञासामा भर पर्छ । रुचि र जिज्ञासा हुनासाथ गुरुको कुनै अभाव वा दुःख पनि हुँदैन । भागवत कृपा, सन्त महात्माहरूको वचन, विभिन्न शास्त्र, कुनै विशेष घटना वा परिस्थिति नै हाम्रा लागि असल मार्ग देखाउने गुरु बन्न सक्छन् । गुरु विभिन्न हुन्छन्– विद्यागुरु, शिक्षागुरु, दीक्षागुरु, सद्गुरु, प्रकृतिगुरु आदि । ती सबैले हाम्रो धारणा, आचरण, बानी तथा चिन्तनमा बदलाव ल्याइदिएका छन् । गुरुपूर्णिमाको पावन अवसरमा, हामीलाई यो धर्तीमा जीवनका साथै सद्बुद्धि प्रदान गरी उत्तरोत्तर उज्यालो मार्गमा डोर्‍याउन सधैं प्रेरित गर्ने सम्पूर्ण गुरुप्रति कृतज्ञ बनौं ।

इन्द्रकुमार श्रेष्ठ, बागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर 

पाठक पत्र

Link copied successfully