नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देशमा प्रधानमन्त्रीको पद केवल प्रशासनिक कुर्सी होइन, यो करोडौं जनताको भावना, सपना र भविष्यसँग जोडिएको राष्ट्रिय जिम्मेवारी हो ।
यस्तो संवेदनशील भूमिकामा बसेका नेतृत्वकर्ताबाट नापजाँच नगरिएको, ऐतिहासिक प्रमाणबिना गरिएको हावादारी अभिव्यक्ति केवल हल्कापन मात्र होइन, त्यो जनताको विश्वासप्रति गरिएको अपमान हो । हालै प्रधानमन्त्री केपी शर्मा भगवान् शिव चाम्लिङ समुदायसँग सम्बन्धित हुन सक्ने ‘अनुमान’ सार्वजनिक रूपमा व्यक्त गरे । यस्तो गैरजिम्मेवार शैलीले हाम्रो राष्ट्रको नेतृत्वप्रतिको आशा र भरोसामाथि गहिरो चोट पुर्याएको छ । प्रश्न उठ्छ– प्रधानमन्त्रीको बोली तथ्यमा आधारित हुन्छ कि केवल लोकप्रियता कमाउने साधनमा सीमित रहन्छ ? उनले आफ्ना भनाइलाई ‘दाबी होइन, अनुमान मात्र’ भनेर स्पष्ट गरे पनि प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तित्वबाट गरिएको प्रत्येक सार्वजनिक अभिव्यक्तिले गम्भीर प्रभाव पार्छ । धार्मिक विश्वास, ऐतिहासिक मान्यता र सामाजिक विविधताको चर्को संवेदनशीलता रहेको हाम्रो समाजमा यस्ता कथनले केवल विवाद जन्माउँछ, भ्रम फैलाउँछ र सहिष्णुतामा घाउ लगाउँछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
