सनातन हिन्दुहरूको विश्वासको आधार पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जान पनि अहिले त भनसुन र पावर लगाउनुपर्ने समय आएको छ । भारतलगायत विभिन्न देशबाट अहिले मन्दिरको दर्शन गर्न आउने भक्तजन बढेका छन् ।
पर्वबाहेक पनि दैनिक हजारौं भक्तजन शिवालयमा दर्शन गर्न आउने गर्छन् । सुरक्षा र लाइन लाग्ने व्यवस्था राम्रो नभएका कारण बल्लतल्ल दर्शन गरेर फर्किएका भक्तजन पनि निराश देखिन्छन् । पशुपतिनाथमा दर्शन गर्न कि पावर चाहिने कि चिनेको चाहिने भनेर भक्तजनले गुनासो गरेको यत्रतत्र सुन्न सकिन्छ ।
अझ विडम्बनापूर्ण कुरा त पशुपतिनाथमा वितरण गरिने चन्दन पनि फरक–फरक दिइन्छ भन्ने सुन्दा जो–कोही छक्क पर्छन् ।
आफ्ना मान्छेलाई भित्रबाट मगमग बासना आउने चन्दन दिइन्छ भने सर्वसाधारणलाई बाहिरैपट्टि काठको धूलोजस्तो चन्दन राखिएको छ । कहीँकतैबाट पनि यसको निगरानी र नियन्त्रण नभएको देख्दा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजन नै आश्चर्यचकित परेका छन् । दैनिक नित्य र विशेष पूजा गरिन्छ । पशुपतिनाथ मन्दिरमा २ सय २५ देखि २५ लाखसम्मको पूजा गर्ने चलन छ । अनलाइनमार्फत पनि पूजाका लागि बुक गरिने उल्लेख छ । दैनिक लाखौं भेटी चढ्छ होला । अन्य जिन्सी सामान त कति हो कति ! त्यसको लेखाजोखा पनि राख्नुपर्यो । पशुपति विकास कोष स्थापना त भएको छ तर त्यहाँ रेखदेख गर्नका लागि यो समितिले खासै काम गरेको देखिँदैन । अहिले त आरती नै दुई ठाउँमा गरिन्छ । यो त सरासर गलत होइन र ? इगो साध्न पशुपतिनाथको मन्दिरमा जानु त भएन नि !
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
