काठमाडौँ — संघीय राजधानी काठमाडौंको बिजुलीबजारको आर्क ब्रिज दक्षिण हुँदै बग्ने टुकुचा खोला यूएन पार्कको अगाडि बागमती नदी आएर मिसिन्छ ।
संघीय राजधानी काठमाडौंको बिजुलीबजारको आर्क ब्रिज दक्षिण हुँदै बग्ने टुकुचा खोला यूएन पार्कको अगाडि बागमती नदी आएर मिसिन्छ । त्यसबीचमा टुकुचा खोलामाथि तीनवटा फलामे पुल र दुइटा पक्की पुल बनेका छन् । ती सबै पुलले काठमाडौं महानगरपालिका वडा नम्बर १० र ११ लाई जोड्ने गर्छन् । बुद्धनगर, रुद्रमती मार्गमा यी दुइटा पक्की पुलमध्ये २०८१ असोज १२ गतेको बाढीका कारण ११ नम्बर वडातर्फको भाग जगैदेखि भासिँदा मूल सडक पनि भासिएको छ । बाढी घटेको केही दिनमै नगर प्रहरी आएर फलामे पोल र जाली लगाएर पैदल तथा सवारी आवतजावतमा रोक लगाइयो । दुवैतर्फ निजी तथा सार्वजनिक विद्यालय, कलेज बाक्लै सञ्चालनमा छन् । अचेल पनि नियमितजसो भारी वर्षा भई नै रहेको छ र फेरि तारजाली गरेर सवारीसाधनलाई त परैको कुरा, पैदल यात्रुलाई हिँड्नसमेत अवरोध पुर्याइएको छ ।
यस्तो अवस्थालाई देखेर पनि यति लामो समयसम्म अनदेखा गर्नु नागरिकको स्वतन्त्र र सुरक्षित यात्रा गर्न पाउने अधिकारप्रतिको उपहास हो । यस्तो कुरामा काठमाडौं महानगरपालिकाको रहस्यमय मौनतामा पनि संशय देखिन्छ ।
–विनोद तण्डुकार, बुद्धनगर–१०, काठमाडौं
