काठमाडौँ — शुक्रबार प्रकाशित एसईईको नतिजाले विद्यार्थी, अभिभावक र शिक्षकमा उत्साह र चिन्ता दुवै सिर्जना गरेको छ । यो समयमा हाम्रो समाजमा एउटा गलत प्रवृत्ति प्रबल छ– नतिजाका आधारमा सन्तानको मूल्यांकन गर्ने र अरूसँग तुलना गर्ने । तर, के हामीले कहिल्यै सोचेका छौं, जीपीए वा नम्बरले मात्र सन्तानको भविष्य निर्धारण गर्छ ?
शुक्रबार प्रकाशित एसईईको नतिजाले विद्यार्थी, अभिभावक र शिक्षकमा उत्साह र चिन्ता दुवै सिर्जना गरेको छ । यो समयमा हाम्रो समाजमा एउटा गलत प्रवृत्ति प्रबल छ– नतिजाका आधारमा सन्तानको मूल्यांकन गर्ने र अरूसँग तुलना गर्ने । तर, के हामीले कहिल्यै सोचेका छौं, जीपीए वा नम्बरले मात्र सन्तानको भविष्य निर्धारण गर्छ ?
एसईईको नतिजापछि सामाजिक सञ्जालमा बधाईका सन्देशको बाढी आउँछ । कतिपय अभिभावकले आफ्ना सन्तानको जीपीए सेयर गर्दै गर्व गर्छन्, तर यो प्रवृत्तिले नतिजामा कम अंक ल्याउने विद्यार्थी र तिनका अभिभावकमाथि अनावश्यक दबाब सिर्जना गर्छ । नेपालको शैक्षिक प्रणालीमा जीपीएलाई नै विद्यार्थीको क्षमताको एकमात्र मापदण्ड मान्ने चलनले दीर्घकालमा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । एक अध्ययनअनुसार (युनिसेफ नेपाल, २०२१) किशोरकिशोरीमा मानसिक तनावको प्रमुख कारण शैक्षिक दबाब र तुलनात्मक संस्कृति हो । बोर्ड टपरहरू पनि नतिजाको बोझले थिचिएर भविष्यमा असफल भएका उदाहरण हाम्रै वरपर प्रशस्त छन् ।
उच्च जीपीए ल्याउनु राम्रो कुरा हो, तर यो जीवनको एकमात्र लक्ष्य होइन । विश्वका धेरै सफल व्यक्ति, जस्तै स्टिभ जब्स वा बिल गेट्स शैक्षिक नतिजामा सधैं अब्बल थिएनन्, तर उनीहरूले जीवनमा जोखिम लिने, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने कला सिके । नेपालमा पनि उद्यमीहरू जस्तै विनोद चौधरीले शैक्षिक नतिजाभन्दा व्यावहारिक सीप र दृढताले सफलता हासिल गरेको देखिन्छ ।
अभिभावकहरूले सन्तानलाई नम्बर ल्याउने यन्त्रका रूपमा नभई एक जिम्मेवार र सक्षम व्यक्ति बनाउने दिशामा मार्गदर्शन गर्नुपर्छ । सन्तानलाई अरूसँग तुलना गर्नुको सट्टा उनीहरूको रुचि, क्षमता र सपनालाई प्रोत्साहन गर्नुपर्छ । सामाजिक सञ्जालमा ग्रेड सेयर गर्नुको सट्टा सन्तानको मिहिनेत र लगनको कदर गर्नुपर्छ । मनोवैज्ञानिकहरूका अनुसार सकारात्मक प्रोत्साहन र आत्मविश्वासले विद्यार्थीको दीर्घकालीन सफलतामा ठूलो योगदान पुर्याउँछ ।
आउनुहोस्, हामी सबै मिलेर नतिजालाई उत्सवका रूपमा मनाऔं, तर त्यसलाई सन्तानको मूल्य मापन गर्ने एकमात्र आधार नबनाऔं । जीवन जिउने कला सिकाऔं, किनकि जीपीएभन्दा ठूलो कुरा जीवन हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
गत वर्ष एसईईको नतिजा कमजोर आएपछि प्रधानमन्त्री शिक्षकप्रति रुष्ट हुनुभएको थियो । त्यसमा सुधार ल्याउन सरकारले विशेषज्ञ शिक्षकद्वारा अनलाइन तयारी कक्षा चलाउने कार्यक्रम ल्यायो । उक्त कक्षामा धेरै शिक्षक खट्नुभयो । धेरै विद्यार्थी जोडिए । अभिभावकले चासो दिए । नभन्दै यो वर्षको नतिजामा गत वर्षको तुलनामा १३.९४ प्रतिशत वृद्धि भयो । यसका लागि सबै पक्ष धन्यवादका पात्र छन् । अर्को वर्ष नतिजा ७० प्रतिशत पुर्याउने प्रधानमन्त्रीको उद्घोष पनि आइसक्यो ।
तर एसईईको नतिजा प्रतिशतमा सुधार हुनु मात्र समग्र शैक्षिक सुधारको सूचक भने होइन । हरेक वर्ष यसरी अनलाइन तयारी कक्षा चलाएर पनि साध्य नहोला । यसको सट्टा सरकारले प्रथमतः उत्तीर्ण विद्यार्थीलाई देशमै बसौँ बसौँ लाग्ने खालको वातावरण तयार गर्न सक्नुपर्छ । त्यसका लागि कुन कुन पक्षमा सुधार गर्नुपर्ने हो, सरकारले समयमै योजना बनाओस् । आजका विद्यार्थीमा परिश्रम, देशभक्ति, नैतिकता, सच्चरित्रताजस्ता विषयमा पनि विशेष जोड दिनुपर्ने अवस्था छ ।
शिक्षामा साँच्चै सुधार गर्ने हो भने प्रथमतः सरकारले नै शिक्षकप्रति सकारात्मक हुने वातावरण तयार गर्नुपर्छ । ‘शिक्षक आचारसंहिता’ त छँदै छ, ‘शैक्षिक आचारसंहिता’ पनि बनाउन ढिला नगरौं । कर्तव्यच्युत शिक्षक कोही भए तिनलाई सेवामुक्त पनि गरिनुपर्छ । कुनै पनि विद्यालयमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर आएका शिक्षकलाई मात्र सेवाको अवसर दिनुपर्छ । कसैलाई पनि अस्थायी वा करारका नाममा अल्झाइराखेर उनीहरूको विशेष प्रतिभा र अवसरलाई सीमित पार्नु हुँदैन । तलब सुविधा बढाउनुभन्दा पनि शिक्षकको मनोबल बढाउनु ठूलो कुरो हो ।
कतिपय स्थानीय तहका शिक्षक कर्तव्यनिष्ठ भएर काम गर्दागर्दै पनि दलीय प्रभावका कारण सधैँ त्रासमा रहनुपर्ने अवस्थामा छन् । एउटाले गरेको राम्रो कामबाट अरूले पनि सिक्ने हो । कतिपय स्थानीय तहले गरेका शैक्षिक नमुनाका काम, नमुना विद्यालयका अभ्यास अन्य स्थानीय सरकार र विद्यालयले पनि अभ्यास गर्नुपर्छ । यसो भएमा कतै गलत अभ्यास भएका भए ती पनि सुध्रिन बाध्य हुनेछन् ।
– इन्द्रकुमार श्रेष्ठ, चिसंखुगढी–३, ओखलढुंगा
