त्रिवि परीक्षा नियन्त्रण कार्यालयको दसवटा सेवा प्रवाहका लागि अनलाइन आवेदन गर्न सकिने व्यवस्था असार १५ गतेदेखि लागू हुने सूचनाले विद्यार्थीमा आशाको किरण छाएको छ ।
सबैले यथार्थ अनुभव गरेको कुरा भनेको त्रिविको सबैभन्दा बढी गुनासो आउने कार्यालय परीक्षा नियन्त्रण कार्यालय हो । केन्द्रीकृत प्रणालीका कारण देशैभरबाट सेवा लिन बल्खु नै धाउनुपर्ने, समयमा परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन नहुने, प्रमाणपत्रहरू समयमा नपाइने, परीक्षाका कागजातमा धेरै नै त्रुटि हुने, सूचना प्रवाहको संयन्त्र नभएको, झन्झटिलो व्यवस्थाजस्ता गुनासाको न्यूनीकरणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विद्युतीय सेवा प्रवाहको प्रयास गर्नु सकारात्मक छ ।
विद्युतीय शासनमार्फत सार्वजनिक सेवालाई कागजरहित बनाउने अभियान नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कले २०७६ सालदेखि नै परिकल्पना गरेको हो । त्रिविले पनि यसलाई आत्मसात् गर्दै पाँचवर्षे डिजिटलाइजेसन रणनीति र सूचना प्रविधि नीति सन् २०२३ मा जारी गरिसकेको छ । अनलाइन भुक्तानीका प्रविधिहरूलाई अवलम्बन गर्न सुरुवात गरेको छ । विद्यार्थीलाई सेवा दिने प्रक्रियामा अनलाइन प्रविधिको प्रयोगले सहजीकरण मात्र गरेको छैन कि हरेक प्रशासनिक सेवालाई विद्युतीय शासनमा आबद्ध गराई एकीकृत सफ्टवेयरहरू मार्फत त्रिविको सेवा प्रणालीलाई विद्युतीय अभिलेखीकरणमा पनि अगाडि बढाएको छ ।
देशकै सबैभन्दा जेठो विद्यालय अब पुरानो भएकै कारण पुरानो ढर्रामा परम्परागत सेवा प्रवाहको निरन्तरतामा होइन कि क्रमभंगता गरेर समयसापेक्ष विद्युतीय सुशासनको अवधारणालाई आत्मसात् गर्दै डिजिटल त्रिविको लक्ष्यमा अगाडि बढ्नुको विकल्प छैन । प्राध्यापक, विद्यार्थी, कर्मचारी र आमसरोकारवालाको चाहना पनि त्यही हो । आशा गरौं– छिट्टै त्रिविबाट डिजिटल प्रविधिमा सेवा प्रवाहको ग्यारेन्टी भएको सुन्न र देख्न पाइयोस् ।
–नोदनाथ त्रिताल, पनौती–२, काभ्रे, हालः त्रिवि, कीर्तिपुर
