स्वास्थ्यमन्त्रीलाई खुलापत्र

असार ६, २०८२

पाठक पत्र

An open letter to the Minister of Health

१. यो देशमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा अन्यायमा कोही परेका छन् भने ती नर्सहरू नै हुन्, जो अहोरात्र काममा खटिँदा पनि कहिल्यै सुखको अनुभूति गर्न पाउन्नन् ।

२.    अहिले नै हाम्रो देशका अस्पतालहरूमा नर्सहरूको अभाव खट्किसकेको छ । भएका नर्सहरू पनि अमेरिका, बेलायत र अस्ट्रेलियातर्फ जाने क्रम जारी छ ।
३.    यही रीतले आगामी ५ देखि ७ वर्षमा हामीले अस्पतालमा नर्सहरूको चरम अभाव भोग्नुपर्ने निश्चित छ । एकातर्फ नयाँनयाँ अस्पताल खोल्ने क्रम जारी हुने, अस्पतालमा बिरामीको चाप बढ्दै जाने र नर्स कम हुने हो भने यो समस्याले विकराल रूप लिने पक्का छ ।
४.    त्यसबेला धेरै रकम तिरेर विदेशी नर्सलाई नेपाल भित्र्याउन नेपाल सरकार बाध्य हुनुपर्नेछ । आफ्ना नर्सलाई सुविधा नदिएर बाहिर जान उत्प्रेरित गर्ने अनि विदेशबाट महँगा नर्स आयात गर्ने परिस्थिति सुखद् होला त मन्त्रीज्यू ?
५.    के तपाईंलाई थाहा छ– यो देशका सरकारी अस्पतालबाहेक अन्य अस्पतालमा काम गर्ने नर्सको पारिश्रमिक कति छ ? तपाईंको सरकारी कार्यालयका नन–गजेटेड सबभन्दा तल्लो तहको कर्मचारीको पारिश्रमिकभन्दा पनि निकै तल छ । अनि, कुन उत्प्रेरणाले उनीहरू काम गरिरहेछन् होला ?
६.    ओपीडी, वार्ड, ओटी, फ्रन्ट डेस्क, वेलनेस, प्याथोलोजी, रेडियोलोजी, कुन ठाउँमा खटिंदैनन् नर्स ? उनीहरूको ड्युटी आवर्सको गणना गर्ने हो भने सरकारी कर्मचारीले गर्ने कामको दोब्बर समय हुन आउँछ । न काम गर्ने ठाउँको सुबिस्ता, न दुई छाक खान पुग्ने तलब, न अतिरिक्त सुविधा, न के न के ?
७.    के तपाईंको मन्त्रालयले नेपालका सबै अस्पतालमा काम गर्ने नर्सहरूको न्यूनतम तलब सरकारी अस्पतालका सरह गर्ने निर्णय गर्न सक्दैन ? कि तपाईं निजी अस्पतालदेखि डराउनुभएको हो ? तपाईंजस्तो स्वास्थ्यमन्त्रीबाट नर्सहरूले ठूलो अपेक्षा गरेका छन् ।
८.    हुनेखाने मान्छेका परिवार निजी अस्पतालमा उपचार गराउन जाने हो । उनीहरूबाट अलिकति बढी रकम थप लिँदा खासै अन्याय हुँदैन । त्यो अतिरिक्त रकम नर्सहरूको पारिश्रमिक र पेसागत विकासमा खर्च गर्न सकिन्छ र उनीहरूलाई न्याय दिन सकिन्छ । तपाईं शिक्षित स्वास्थ्यमन्त्रीलाई यति कुरा सम्झाइरहन नपर्ला ?
९.    यति गर्न सके मात्रै पनि विदेशतिर हुत्तिने नर्सको संख्यामा कटौती हुने निश्चित छ र हाम्रा अस्पतालमा न्यूनतम सही पारिश्रमिक उपलब्ध हुने कुराले उनीहरूलाई यहीं सेवा गर्न उत्प्रेरित गर्नेछ ।
१०.    डाक्टर र नर्सले एउटै टिममा काम गर्नुपर्दछ । पारिश्रमिकका हिसाबले विज्ञ डाक्टरको एक हप्ताको खाजा खर्च पनि नर्सको महिना दिनको पारिश्रमिकभन्दा बढी हुन्छ भने, के नर्सहरूमा हिनताबोध हुँदैन ? अनि उनीहरूबाट तपाईं उत्कृष्ट सेवाको कल्पना कसरी गर्न सक्नुहुन्छ ?

मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

पाठक

Link copied successfully