ढुलमुले दाहाल

असार ३, २०८२

पाठक पत्र

Dhulmule Dahal

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको व्यवहार र पुष्पकमल दाहालको मौनताले फेरि एकपटक दाहालको ढुलमुले चरित्रलाई उजागर गरिदिएको छ ।

सुरुमा गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने अडान राख्ने माओवादी केही दिनमै सत्तारूढ दलहरूसँग २ बुँदे सहमतिमा पुगेर त्यसै अडानबाट पछाडि हट्न पुगेको हो ।
दाहालका भाषणहरूमा जनताको पीडा, न्याय र परिवर्तनको स्वर हुँकारित हुन्छ, तर व्यवहारमा उनी सधैं सत्ताको सुरक्षामा रमाउने गर्छन् । गृहमन्त्रीलाई संसद्मै पीडित बनाउने र मिडियामाथि नै प्रश्न उठाउने आँट कसरी सम्भव भयो भने त्यो माओवादीको पश्चगमनले नै सम्भव बनायो । सत्तामा टिकिरहने लोभले जनताको पक्षमा देखिएको अडान क्षणभरमै पग्लिनु केवल संयोग थिएन, त्यो योजनाबद्ध आत्मसमर्पणको एक कडी थियो । विचार र आस्थामा दृढ देखिनुपर्ने नेताको यस्तो कमजोरीले न दाहालको राजनीतिक हैसियत बचाउन सक्छ, न माओवादी आन्दोलनको बाँकी इज्जत नै ।
दाहालको सत्तामोह कुनै नयाँ कुरा होइन । विगतमा पटक–पटक गठबन्धन फेरेर, विचारभन्दा पदको लालसा देखाएर, उनी सत्तामा टाँसिइरहेका थिए । रास्वपादेखि राप्रपासम्मले माओवादीमाथि लगाएका ‘मिलेमतो’ र ‘आत्मसमर्पण’ को आरोप केवल आरोप मात्र होइनन्, ती त दाहालको पछिल्लो क्रियाकलापबाट पुष्टि भएका यथार्थ नै हुन् । जनताले यस्ता नेताबाट अब कुनै मौलिक परिवर्तनको आशा गर्नु आफैंमा विडम्बनापूर्ण छ । सत्ता र कुर्सीकै लागि राजनीति गर्ने, तर जनताको पक्षमा न ठोस कार्य गर्ने न नैतिक बल देखाउने नेतृत्व देशका लागि घातक बन्न सक्छ ।
सत्ताको क्षणिक मोहमा अडान फेर्ने बानीले न जनताको विश्वास जित्न सकिन्छ, न त माओवादीको साख जोगाउन सकिन्छ । अब दाहालसामु भावनामा बगेर होइन, विचारमा दृढ भएर जनताको पक्षमा उभिन सक्ने निष्ठा प्रदर्शन गर्ने समय आएको छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully