नेपालका शासकबाट मुलुकको अग्रगामी कदम अझैसम्म तय हुन सकेको छैन । नेतृत्व एवं सत्ताधारीको मानसिक संकुचनका कारण देशको रूपान्तरण हुन नसकेपछि उनीहरूको अकर्मण्यतामाथि दोष लगाउन कर लाग्छ ।
एकातिर विकासका गतिविधि अघि बढाउने कुरामा प्रशासक र राजनीतिक नेतृत्वले आ–आफ्नै डम्फु बजाउने गरेको पाइन्छ भने अर्कोतिर राणाकालीन शैलीको हाकिमी, मिचाहा प्रवृत्ति केन्द्रदेखि गाउँसम्म हाबी हुँदा अनावश्यक विकास निर्माणका काममा बजेट खन्याउने काम भइरहेको छ ।
राजनीतिक दल, नेतृत्वको आडमा विकासको बजेट मिलीजुली झ्वाम पार्नेहरूमाथि कारबाही नहुँदा भ्रष्टाचारीको हौसला अरू बढेको छ । सडक नभएको ठाउँमा पुल बनाउने, पहाडमा जथाभावी डोजर चलाएर अनुपम प्राकृतिक स्वरूप मास्ने काम होस् या काठमाडौंको विष्णुमती नदीमा गुणस्तरहीन पुल बनाएको, चुरे संरक्षण कार्यक्रम नाम मात्रको बनेको किन नहोस्– यी र यस्ता अनगिन्ती विकास निर्माणको काममा रकमको चरम दुरुपयोग भएको यथार्थ कसैबाट लुकेको छैन । प्रथमतः लोकतान्त्रिक शासकीय प्रणाली यति निकृष्ट छ कि यसभित्र विज्ञ तथा नीतिकारको विचार, योजनाले प्रवेश नै पाउँदैन ।
राम्रो नराम्रो, ठीक/बेठीक जे–जस्तो भए पनि ठूलाबडाको आदेश, निर्देशन मानिरहनुपर्ने, भिजन नभएका नेता, प्रशासकले सेतोलाई कालो र कालोलाई सेतो भने पनि त्यही कुरा सही मान्नुपर्नेलगायत सन्दर्भ राणाशासनका प्रतिबिम्ब हुन् । माथिल्लो तहको प्रशासक, नेताले भनेको नमाने सरुवा गरिदिने, पदच्यूत गर्ने, अवसरबाट वञ्चित पार्ने गरेको यथार्थबाट हामी अनभिज्ञ छैनौं । यसरी ‘हस् हजुर’ संस्कारको अन्त्य नभएसम्म नेपालको आर्थिक र सामाजिक अवस्थामा सुधार आउन सक्दैन, गरिबीको दलदलबाट मुलुक कहिल्यै माथि उठ्न सक्दैन ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
