आलोचनात्मक चेत मोड्ने राजनीति

जेष्ठ २२, २०८२

पाठक पत्र

The politics of critical distraction

‘झोले’ शब्दले नेपाली राजनीतिक विमर्शमा निकै बेमौसमको अर्थ बोकेको छ । खासगरी २०४६ सालपछिको यो शब्द कुनै नेताप्रति अन्धसमर्पण गर्ने कार्यकर्ताको प्रतीकजस्तै बनेको थियो ।

त्यति बेला आलोचनात्मक चेतबिना पार्टीप्रति समर्पित कार्यकर्तालाई व्यंग्यात्मक रूपमा ‘झोले’ भन्ने गरिन्थ्यो । अहिले गठबन्धन सरकारको नेतृत्व गर्दै आएको एमालेले यसलाई फेरि राजनीतिक प्रयोग गर्दै ‘म झोले हो’ अभियान प्रारम्भ गरेको छ । यसलाई भाषिक राजनीतिको एउटा अर्को प्रयासका रूपमा बुझ्नु उचित हुन्छ ।

गणतन्त्र दिवसका दिन उत्पन्न आलोचनात्मक सन्दर्भमा प्रतिक्रियात्मक रूपमा सुरु गरिएको यो अभियान एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जालको पोस्टबाट सार्वजनिक रूपमा अगाडि बढाइएको छ । ओलीले आफूलाई ‘झोले’ भनी दाबी गर्दै झोला बोक्नुलाई ‘सामूहिक संघर्ष र परिवर्तनको प्रतीक’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ‘झोले’ हुनु भनेको कुनै सामन्ती प्रभुको दास बन्नु होइन– परिवर्तन, राष्ट्रवाद र विकासको बोझ बोक्नु हो ।

यो अभियानमा एमालेका शीर्ष नेताहरूको सहभागिता, पोस्टर सेयर गर्ने शैली र राजनीतिक भाषाको प्रयोग गरेका छन् । यसले के स्पष्ट पार्छ भने यो अभियान गम्भीर वैचारिक प्रस्तुति होइन । बरु तत्कालीन आलोचनाको प्रतिक्रियास्वरूप र ‘भर्चुअल छवि नियन्त्रण’ को उपायका रूपमा अघि सारिएको हो । खासगरी राजावादी पक्षबाट वर्तमान व्यवस्थाविरुद्ध व्यक्त भइरहेको आलोचनालाई काउन्टर दिन एमालेले आफ्ना कार्यकर्तालाई प्रतिक्रियात्मक बनाएको बुझ्न गाह्रो छैन ।

खासमा झोले बन्नु गौरवको विषय हो कि होइन ? किनकि यसको वास्तविक मूल्यांकन कार्यकर्ताको विवेक र आलोचनात्मक चेतद्वारा मात्र हुन सक्छ । यथार्थमा प्रचार र भाषिक पुनर्लेखनले होइन कि पार्टीप्रतिको समर्पण, जनताको पक्षमा उभिने साहस र संस्थागत अभ्यासमा देखिने पारदर्शिताले ‘झोले’ शब्दको सम्मान या अपमान निर्धारण गर्नेछ ।

टेकेन्द्र अधिकारी, विराटनगर

पाठक

Link copied successfully