भीमसेन थापा गाउँपालिका–५, बगुवा निवासी समाजसेवी शंकर ढकालका १० वर्षीय छोरा स्मरण ढकालको जीवन अहिले संकटमा छ । उनका दुवै मिर्गौलामा गम्भीर र जटिल रोगले आक्रमण गरेको छ ।
कान्ति बाल अस्पताल, काठमाडौंमा उनको निरन्तर उपचार भइरहेको छ तर चिकित्सकले अब मिर्गौला प्रत्यारोपण नै उनको जीवन बचाउने एक मात्र उपाय भएको बताएका छन् । यो जटिल उपचार प्रक्रिया अत्यन्तै महँगो छ र ढकाल परिवार, जो आफ्नो जीवन सामान्य तरिकाले जिउँदै आएको छ, यो आर्थिक बोझ धान्न असमर्थ छ ।
माननीयज्यू, स्मरण केवल एक बालक होइन, ऊ एक परिवारको आशा, सपना र भविष्य हो । ऊ त्यो हाँसो हो, जसले आफ्नो बाबुआमाको मन रंगीन बनाउँछ । ऊ त्यो सानो आत्मा हो, जसले स्कुलमा साथीहरूसँग खेल्ने, पढ्ने र ठूलो भएर देशको सेवा गर्ने सपना देख्छ । तर आज, उसको यो कोमल मन र निष्कलंक मुस्कानलाई रोगले छोप्दै छ । एक अभिभावकका रूपमा तपाईंलाई यो प्रश्न सोध्न चाहन्छु– यदि स्मरण तपाईंको आफ्नै छोरा भएको भए, के तपाईं उसको जीवन बचाउन हरसम्भव प्रयास गर्नुहुन्नथ्यो ? स्मरणलाई तपाईंको आफ्नै सन्तानका रूपमा हेर्नुहोस् र उसको जीवनमा आशाको उज्यालो फर्काउन एक कदम उठाइदिनुहोस् ।
नेपाल सरकार हाम्रो अभिभावक हो । जसरी एक अभिभावकले आफ्ना सन्तानको संकटमा हरसम्भव सहयोग गर्छ, त्यसैगरी सरकारले पनि आफ्ना नागरिकको जीवन रक्षाको जिम्मेवारी लिनुपर्छ । आर्थिक स्थिति कमजोर भएकाहरूको पनि बाँच्ने अधिकार छ । स्मरणजस्ता निर्दोष बालबालिकाले केवल आफ्नो परिवारको आर्थिक अवस्थाका कारण जीवन गुमाउनुपर्ने अवस्था आउनु हुँदैन ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
