सरकारको प्रशंसनीय काम

जेष्ठ १८, २०८२

पाठक पत्र

Admirable work of Govt

जेठ लागेदेखि नै कर्मचारीबीचमा यस पटक कति प्रतिशत तलब बढ्ला भन्ने विषयमा व्यापक चर्चा र विभिन्न अड्कलबाजी थियो ।

महँगी बढेसँगै दुई–तीन वर्षको अन्तरालमा तलब बढाउने सामान्य चलन पनि छ । तर ती सबैखाले अड्कलबाजीलाई सरकारले माथ दिएर भत्ता मात्र ३ हजार बढायो । सरकारको यो काम अति नै प्रशंसनीय र विवेकपूर्ण लाग्यो ।

तलब बढाउँदा सरकारलाई धेरै नै घाटा हुन्छ । तलब बढाउँदा तलब मात्रै बढ्दैन, कर्मचारी सञ्चय कोष बढ्छ । ग्रेडको रकम बढ्छ अनि सेवानिवृत्त कर्मचारीको पेन्सन पनि बढेको तलबको दुईतिहाइ बढ्ने नियम छ । देशको आर्थिक अवस्था राम्रो नभएर कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आएको सुनिन्छ । यस्तै हो भने अबका दिनमा कर्मचारीको तलब बढाउने होइन, घटाउने बाध्यता आउला । बढाउनैपर्ने हुँदा पनि यसरी नै महँगी भत्ताका रूपमा बढाउने परम्परा बसाउन बेर छैन । अनि, पेन्सनको सुविधा त कटौती नै गर्नुपर्ला । यस्तो कुरा नबुझेर होला, सेवानिवृत्त कर्मचारीले ‘बढेको महँगी भत्ता’ को विरोध गरेको पनि सुनियो ।

पछिल्लो समय सरकारले नेपाल राजपत्र भाग ५ मा २०८१ फागुन ८ मा ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड–२०८१’ नै जारी गरेको थियो । यो कुरा कतिलाई थाहा नहुन पनि सक्छ । जेहोस्, यसबाट पनि सरकार मितव्ययी हुन चाहन्छ भन्ने कुरा प्रस्टै छ । तर जनतालाई मितव्ययी बनाउन चिन्तित सरकार, आफ्नो संख्या र सेवा सुविधा घटाउने कुराचाहिँ किन थाहा पाउँदैन ?

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक

Link copied successfully