काठमाडौँ — मानिसहरू आदर्शका निकै गफ गर्छन् । अरूलाई शिक्षा दिन तँछाडमछाड नै चल्छ । तर जब त्यही कुरा आफूमाथि आइपर्छ– आफैंले बोलेका आदर्शका कुरा चटक्कै बिर्सिन पुग्छन् ।
मानिसहरू आदर्शका निकै गफ गर्छन् । अरूलाई शिक्षा दिन तँछाडमछाड नै चल्छ । तर जब त्यही कुरा आफूमाथि आइपर्छ– आफैंले बोलेका आदर्शका कुरा चटक्कै बिर्सिन पुग्छन् । ठिक यस्तै चरित्र वर्तमान गृहमन्त्री रमेश लेखकले देखाएका छन्, जुन आफैंमा लज्जास्पद, अशोभनीय र अनैतिक छ । भिजिट भिसाका नाममा ठूलो भ्रष्टाचारको कुरा बाहिरिएपछि त्यसको अन्तिम सुई गृहमन्त्रीतर्फ सोझिएको थियो । अध्यागमन कार्यालयका प्रमुखसहित ४ जनालाई अख्तियारले अहिले बयान लिँदै छ । आफू मातहतको विभाग र कर्मचारीविरुद्धको छानबिन प्रभावित हुन नपाओस् भन्ने उद्देश्यका लागि छानबिन पूरा नभएसम्मका लागि गृहमन्त्री पदबाट अलग हुनु उचित र नैतिक हुन्थ्यो ।
सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यो घटनामा गृहमन्त्री निर्दोष रहेको ठहर गरेको छ । स्वयम् गृहमन्त्रीले पनि आफू निर्दोष रहेको र कसैले दोषी प्रमाणित गरे मन्त्री पदबाट मात्रै होइन, राजनीतिबाटै सदाका लागि अवकाश लिने बताएका छन् । तर, प्रश्न उठ्छ– के गृहमन्त्री दोषी होइनन् भन्ने कुरा कांग्रेस बैठकले फैसला गर्ने कुरा हो ? कि आरोपित व्यक्ति स्वयंले निर्दोष छु भन्दैमा आमजनताले पत्याइदिनुपर्ने हो ?
–गोपाल देवकोटा, कामनपा–७, चाबहिल
