रोल्पाको राजनीतिक मञ्चमा उभिएर पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईलाई ‘बुद्धि नभएको’ भन्ने अभिव्यक्ति दिएको खबर सुन्दा अचम्म मात्र हैन, गम्भीर पीडाबोध पनि भयो ।
आदर्श र नैतिकताको भाषण दिने नेताबाट आफ्नै पुराना सहकर्मी र जनयुद्धका सहयात्रीप्रति यस्तो अपमानजनक टिप्पणी सुन्नु नेपाली राजनीतिमा झनै पतनको संकेत हो । यस्तो भाषण दिनुअघि दाहालले आफ्नो विगत ऐनामा एकपटक हरेको भए, बुद्धिको परिभाषा सायद उनकै लागि बदलिन्थ्यो कि !
बाबुराम दूधले नुहाएका मान्छे हैनन्, उनका कैयन् गल्ती अवश्य छन् । पछिल्लो समय उनको राजनीति बुझ्न कठिन छ तर सत्य के हो भने यसका बाबजुद पनि क्रान्तिको वैचारिक मेरुदण्ड बाबुराम थिए भन्ने कुरा नजरअन्दाज गर्न मिल्दैन । माओवादी आन्दोलनको नक्सा कोर्नेदेखि लिएर राजनीतिक दस्ताबेज लेख्ने, आर्थिक, राजनीतिक दृष्टिकोण तय गर्ने र अन्तर्राष्ट्रिय कूटनीतिक पहिचान दिलाउने काम बाबुरामकै बुद्धिको उपज थियो । दाहाल मैदानमा जोसका साथ उत्रिए, यो सत्य हो । तर त्यो जोसलाई विचार र नीतिमा रूपान्तरण गर्ने दिमाग बाबुरामको थियो । विडम्बना ! आज त्यही नेतृत्वलाई ‘बुद्धिहीन’ भन्नु राजनीतिक दिवालियापन होइन त ?
गोर्खा क्षेत्र–२ को माटोलाई बाबुरामले नारा होइन, नीति दिएर प्रेम गरे । बुढीगण्डकी जलविद्युत् परियोजना, मध्यपहाडी लोकमार्ग, काठमाडौंको सडक विस्तारजस्ता दीर्घकालीन पूर्वाधार योजनाको रेखांकन उनले गरे । प्रधानमन्त्री हुँदा उनले सादा जीवनशैली रोजे, सरकारी खर्च कटौती गरे, सस्तो लोकप्रियताको होइन, दीर्घ असर पार्ने योजनाको अभ्यास गरे । तर यस्ता कुरा भाषणबाजीमा रमाउने दाहाललाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो । किनभने उनको राजनीति गफको खेती हो, परिणामको होइन ।
बाबुरामले दाहाललाई गोर्खा क्षेत्र–२ सुम्पिए, जनताको माया बाँडे, चुनाव जिताए । तर त्यसको बदला दाहालले गोर्खालाई के दिए ? मनोरेलको सपना कहाँ हरायो ? बुढीगण्डकी कुन दलदलमा फस्यो ? शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता बुनियादी सवालमा के हासिल भयो ? बाबुराम आज पनि गाउँगाउँ डुल्छन्, जनताको पीडा सुन्छन्, योजनाको जग बिछ्याउँछन् । दाहालचाहिँ दिउँसो पार्टी कार्यालयमा जनवादी विवाह गर्दै राति महँगा टेरेस होटलमा रमाइलो गर्दै रमाउँछन् । बाबुराम विचारमा बाँच्छन्, योजनामा देखिन्छन् । दाहाल रमझम र भाषणमा हराउँछन् । इतिहास मौन छैन । अब गोर्खाली जनताले दाहालको बोली मात्र होइन, व्यवहारको हिसाब माग्न थालेका छन् । उनीहरू ‘गफाडी’ को ठेगाना चिन्न सक्ने भइसकेका छन् । राजनीति परिणामले मूल्यांकन हुन्छ, गफले होइन ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
