गफाडी कमरेड

जेष्ठ ११, २०८२

पाठक पत्र

Goofy comrade

रोल्पाको राजनीतिक मञ्चमा उभिएर पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईलाई ‘बुद्धि नभएको’ भन्ने अभिव्यक्ति दिएको खबर सुन्दा अचम्म मात्र हैन, गम्भीर पीडाबोध पनि भयो ।

आदर्श र नैतिकताको भाषण दिने नेताबाट आफ्नै पुराना सहकर्मी र जनयुद्धका सहयात्रीप्रति यस्तो अपमानजनक टिप्पणी सुन्नु नेपाली राजनीतिमा झनै पतनको संकेत हो । यस्तो भाषण दिनुअघि दाहालले आफ्नो विगत ऐनामा एकपटक हरेको भए, बुद्धिको परिभाषा सायद उनकै लागि बदलिन्थ्यो कि !

बाबुराम दूधले नुहाएका मान्छे हैनन्, उनका कैयन् गल्ती अवश्य छन् । पछिल्लो समय उनको राजनीति बुझ्न कठिन छ तर सत्य के हो भने यसका बाबजुद पनि क्रान्तिको वैचारिक मेरुदण्ड बाबुराम थिए भन्ने कुरा नजरअन्दाज गर्न मिल्दैन । माओवादी आन्दोलनको नक्सा कोर्नेदेखि लिएर राजनीतिक दस्ताबेज लेख्ने, आर्थिक, राजनीतिक दृष्टिकोण तय गर्ने र अन्तर्राष्ट्रिय कूटनीतिक पहिचान दिलाउने काम बाबुरामकै बुद्धिको उपज थियो । दाहाल मैदानमा जोसका साथ उत्रिए, यो सत्य हो । तर त्यो जोसलाई विचार र नीतिमा रूपान्तरण गर्ने दिमाग बाबुरामको थियो । विडम्बना ! आज त्यही नेतृत्वलाई ‘बुद्धिहीन’ भन्नु राजनीतिक दिवालियापन होइन त ?

गोर्खा क्षेत्र–२ को माटोलाई बाबुरामले नारा होइन, नीति दिएर प्रेम गरे । बुढीगण्डकी जलविद्युत् परियोजना, मध्यपहाडी लोकमार्ग, काठमाडौंको सडक विस्तारजस्ता दीर्घकालीन पूर्वाधार योजनाको रेखांकन उनले गरे । प्रधानमन्त्री हुँदा उनले सादा जीवनशैली रोजे, सरकारी खर्च कटौती गरे, सस्तो लोकप्रियताको होइन, दीर्घ असर पार्ने योजनाको अभ्यास गरे । तर यस्ता कुरा भाषणबाजीमा रमाउने दाहाललाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो । किनभने उनको राजनीति गफको खेती हो, परिणामको होइन ।

बाबुरामले दाहाललाई गोर्खा क्षेत्र–२ सुम्पिए, जनताको माया बाँडे, चुनाव जिताए । तर त्यसको बदला दाहालले गोर्खालाई के दिए ? मनोरेलको सपना कहाँ हरायो ? बुढीगण्डकी कुन दलदलमा फस्यो ? शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता बुनियादी सवालमा के हासिल भयो ? बाबुराम आज पनि गाउँगाउँ डुल्छन्, जनताको पीडा सुन्छन्, योजनाको जग बिछ्याउँछन् । दाहालचाहिँ दिउँसो पार्टी कार्यालयमा जनवादी विवाह गर्दै राति महँगा टेरेस होटलमा रमाइलो गर्दै रमाउँछन् । बाबुराम विचारमा बाँच्छन्, योजनामा देखिन्छन् । दाहाल रमझम र भाषणमा हराउँछन् । इतिहास मौन छैन । अब गोर्खाली जनताले दाहालको बोली मात्र होइन, व्यवहारको हिसाब माग्न थालेका छन् । उनीहरू ‘गफाडी’ को ठेगाना चिन्न सक्ने भइसकेका छन् । राजनीति परिणामले मूल्यांकन हुन्छ, गफले होइन ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully